आलोपालोमा कुरा मिलेपछि कर्णालीको किचलो साम्य

आलोपालोमा कुरा मिलेपछि कर्णालीको किचलो साम्य

प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न  एक घण्टामात्रै समय बाँकी रहँदा कर्णालीमा माओवादी केन्द्र र नेकपा एमालेबीच आलोपालो सहमति जुटेको छ । पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रीय तहमा भएको सहमति उल्ट्याउँदै प्रदेशमा नयाँ समझदारी बनेको हो । 

केन्द्रको सहमतिविपरित एमालेले आलोपालोको अडान राखेपछि त्यहाँ सरकार गठनमा किचलो बढेको थियो । जसका कारण प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय घर्किने अवस्था आएपछि दुवै दलले आलोपालो सहमति गरेका हुन् ।

अब कर्णालीमा सुरुको पहिलो चरणमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले साढे दुइ वर्ष सरकारको नेतृत्व गर्नेछन् । त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेल मुख्यमन्त्री हुनेछन् । 

यो सहमतिसँगै झण्डै सात वर्षपछि कँडेलको मुख्यमन्त्री बन्ने सपना पनि पूरा हुने निश्चित भएको छ । कँडेलले अघिल्लो पटक पनि मुख्यमन्त्री बन्न ठूलो प्रयत्न गरेका थिए । तर, तत्कालीन नेकपा हुँदै एमालेमा आएको विभाजनले मुख्यमन्त्री खाने उनको चाहाना अधुरै रहेको थियो । 

नयाँ सहमति जुटेपछि दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् ।
 

टिप्पणीहरू