लमजुङ प्रहरीद्वारा वर्षौंदेखि बेपत्ता हत्या आरोपी पक्राउ

लमजुङ प्रहरीद्वारा वर्षौंदेखि बेपत्ता हत्या आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले एकपछि अर्को अपराधी पत्ता लगाएको छ । अपराधका पुराना फाइदा पल्टाउँदै गर्दा ती अपराधी नियन्त्रणमा आएका बताइएको छ । 

अपराधका पुराना मुद्दाका फाइल पल्टाउने सिलसिलामा केही दिन अघिमात्रै शिशु हत्या आरोपी पार्वती दवाडी घिमिरे चितवनबाट पक्राउ परेकी थिइन् । २३ वर्ष पुरानो मुद्दामा सफलता मिले पनि पाँच वर्ष अगाडिका अर्का हत्याकाण्डका आरोपी फरारले लमजुङ प्रहरीको टाउको दुखाइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली ‘लिमा टू’ एक महिनादेखि सोही घटनाको थप अनुसन्धान गर्दै थियो । फिचर नै तयार पारेर थालिएको अनुसन्धानले अन्ततः प्रहरीलाई सफलता मिलेको बताइन्छ । हत्याका अर्का आरोपित पनि चितवनबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घटना २०७४ मंसिर ११ गते रातको साढे ९ बजेतिर आसपासको हो । आरोपित बेलराम गुरुङसहित साविक भार्ते गाविस सीमघारीमा अध्यापन गराउँदै आएका पूर्व शिक्षक हितमान श्रेष्ठ नजिकैको भट्टीमा रक्सी पिउँदै गर्दा शुरु भएको सामान्य भनाभनले उग्ररूप लियो । वैदेशिक रोजगारबाट भर्खरै फर्केका गुरुङले नजिकै चिरेर राखिएको काठले श्रेष्ठको थाप्लोमा प्रहार गर्दा रक्ताम्य भएका श्रेष्ठको ज्यान गएको थियो । 


निकै सोझा मानिने शिक्षक श्रेष्ठले सेवा निवृतपछि गाउँमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले बलेरो जीप किनेर गाउँ मै सेवा दिएका थिए । त्यसदिन गुरुङले आफ्नो घरायसी रिस श्रेष्ठ माथि पोखेको थिए । 

राइनास नगरपालिका–९ कुँडुलेका हाल ४२ वर्षीय गुरुङ हत्यापछि भरतपुर महानगरपालिका–१६ विजयनगरमा लुकेर बसे । पाँच वर्षपछि उनी गत बुधबार प्रहरीको फन्दामा परेका हुन् ।

बिना महतोसँग दोश्रो घरबार जोडेर ट्याक्टर सहचालकको रूपमा काम गर्दै आएका गुरुङले त्यहाँ आफ्नो असली वतन नै परिवर्तन गरि आशमान राखेका थिए । पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको छ । उनले आफुले गरेको अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । 

यसरी एकपछि अर्का फरार अभियुक्त पक्राउ पर्न थालेपछि लगभग चार वर्ष अघि सुन्दरबजार –१ पाउँदीमा हत्या गरिएकी एक वृद्धाको हत्यारा पनि छिट्टै पत्ता लाग्नेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश श्रीमत विश्वस्त देखिन्छन् ।

अञ्जनकुमार

टिप्पणीहरू