मेरो गीत किन चोर्नुपरेको होला !
खोटाङ जिल्लाको पहिलो मावि चम्पावती हो । पुर्खाहरूको उत्साह र बिरासतले आफ्नै गाउँमा विद्यालय स्थापित भयो । जहाँ म पढें, त्यहीँ शिक्षक भएँ । मेरो आनिबानी बिल्कुलै मन पराउने श्रदेय दाजु वरिष्ठ साहित्यकार जसराज किराँतीज्यूले शिक्षण पेशा छाडेपछि त्यही शिक्षक कोटामा २०३० सालमा निःसन्देह प्रवेश गराउनुभयो ।
गुण लाउनुभयो तर ऋण तिर्न सकेको छैन । मेरो झुकाव गाउने, बजाउनेतिर भएकाले प्रधानाध्यापक एकनाथ ढकालज्यूले संगीततिर बढावा दिनुभएको थियो । बिहान स्कूलको प्रांगणमा राष्ट्रिय गीतसँगै मेरो रचना र संगीत पनि गाउन लगाउँथे ।
जस्तैः
आज हामी कोपिला हौं भविष्यका फूल
फुल्छन् हाम्रो हात काँधमा प्रगतिको मूल
प्रगतिको मूल जय चम्पा जय जय जय!!!
शिक्षा नै हो ज्योति हाम्रो जीवनको श्रृंगार
नओइलाउने बासना यो फुल्छ बारम्बार
फुल्छ बारम्बार जय चम्पा जय जय जय !!!
साहित्य र कला हाम्रो पुख्र्यौली पारा हो
ज्ञान विज्ञान शिक्षा पनि यो देशको प्राण हो ।
यो देशको प्राण हो जय चम्पा जय जय जय!!!
०३३ सालसम्म नरेन्द्र सर आउनुभएको थिएन । राष्ट्रिय पर्व, स्कूलको स्थापना, दिवश आदिमा आफैँले खिपेर सिर्जना गर्थें, आफैँ संगीत भरेर हार्मोनियम बजाएर गाउँथे । आफैँ विद्यार्थीहरूलाई नाच्न पनि सिकाउँथें । ०३५ सालमा शिक्षक निरजिमी सरसँग चाम्लिङ भाषाको युगलगीत मन्त्री डिल्लीशेर राईसँग सोधनी गरी दुई जनाले गाएका छौं । गीत ‘आकुँची चाईसे रिचिबुङ खोलिँदा मिवैङासे
लाकानेलुइदा खिम–खिम्दा
खुसेची खोडा मिलैदा
यो गीतलाई गणेश रसिक र तारादेवीले रेडियो नेपालमा रेकर्ड गर्नुभएको थियो । ०३० सालमा ‘जीवन घुम्तीभित्र‘ नामक नाटक मैले लेखेर विद्यालयमा देखाएका थियौं । त्यो बेला प्रधानाध्यापक एकनाथ सरकी छोरी वसन्ती ढकाललाई सो नाटकमा नचाउँदा गीत र संगीत मेरै थियो, ‘गाई जौबारीमा, कान्छौ फेरि पनि आऊ है यही चौतारीमा !’ राजा वीरेन्द्रको राज्याभिषेक राजविराजमा हुँदा पनि यो गीत गाईजौबारीमा र मारुनी नाच प्रदर्शन गरेका थियौँ ।
म शिक्षाशास्त्र अध्ययन संस्थान ताहाचल पढ्दा टंक राईको सम्पादनमा पारुहाङ पत्रिका काठमाडाँैको सहयोगार्थ खोटाङको भीमराज सर र धेरैजसो ओखलढुंगाका मित्रहरू हुनुहुन्थ्यो । त्यो बेला वरिष्ठ गायक पाण्डव सुनुवारले बुइपाको गीतहरू गाउनुहोस् न धनराजजी भन्दा मैले ‘गाईजौबारीमा कान्छौ फेरिपनि आऊ है यै चौतारीमा‘ गाएको थिएँ ।
हामी रातभरि सँगै गाउँथ्यौँ । देउसी भट्याउनचाहिँ दिनुभएन । बडो रोचक रमाइलो गरी ‘हो है भन भन भाइ हो’ भनेर भट्याउनुभयो । रसिक फूर्तिलो स्वभावको हुनुहुन्थ्यो । राजाको शिविर धनकुटामा पनि ‘गाईजौबारीमा’ गीत तयार गरेका थियौं । तर वसन्ता ढकाल केटाहरूको समूहमा कार्यक्रमस्थल जान मान्नु भएन ।’ यसर्थ ‘देखेकोले हुँदैन’ भन्ने गीतमा ध्यान रुम्दाली राई र प्रेम खालिङलाई नचाएर नजर गराइयो । त्यो बेला मोरङ जिल्ला पहिलो र सुनसरी जिल्लालाई उछिनेर हामी खोटाङ दोस्रो भएका थियौं । प्रस्तुत गरिएको गीत पनि मेरै रचना र संगीतमा छ ।
मानबहादुर कान्छा दर्जी हाम्रो भन्दा तल्लोघरमा धेरै वर्षदेखि बसेको थियो । मेरो ज्यादै मिल्ने गोठाले साथी प्रिय मानबहादुर पछि लैकुखोलाकै भीरबाट चिप्लेर लडेर बित्योे । लैकुखोलापारी ठूलो चिप्लेटी ढुंगा छ । त्यसलाई चौतारी पाखा भन्छौं । त्यहीँ बसेर उनै गोठालो जाँदाको साथीलाई सम्झँदै मित्र वियोगमा यो गीत बनाएको थिएँ ।
०२८ सालमा मेरो कलमबाट उनकै बेदनामा यो गीतको जन्म भएको हो । यसरी मेरो संवेदनाको आँशुको गीतलाई गायक जितेन राईले आफ्नै नाममा शब्द, संगीत भनेर रेकर्ड गरेको सुन्दा ठूलो पीडा भएको छ । जितेन राईले नै आफ्नो नाममा प्रकाशन गरेपछि सामाजिक सञ्जालमै भूपाल राईले पनि चर्को आपत्ति जनाएका थिए । अहिले प्राविधिक भूल भयो भनेर माफी मागेपछि शब्द जितेन राईको ठाउँमा भूपाल राई बनाएका छन् । भूपाल राईको फेसबुक स्ट्याटस पढेपछि मेरी छोरी गायिका रोशनाले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी छन् ।
किराँत राई कलाकारहरूको हकहित र अधिकार, संस्कृति आदि जगेर्ना गर्ने भनेर संघ खोलिएको होला । यसका संस्थापक केन्द्रीय अध्यक्ष जितेन राई र वर्तमान कार्यसमितिले मेरो पनि अधिकार खोजी गर्नुपर्छ कि पर्दैन ?
– धनराज राई, दिक्तेल, रूपाकोट, मझुवागडी नगरपालिका–१४, बुईपा खोटाङ ।
टिप्पणीहरू