फ्रान्स पठाइदिने प्रलोभनमा लाखौँको ठगी

फ्रान्स पठाइदिने प्रलोभनमा लाखौँको ठगी

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने प्रलोभनमा सर्वसाधारण ठग्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट मोटो रकम असुलेर बेपत्ता भएका तेजेन्द्र महतलाई आज चन्द्रागिरिबाट समातिएको हो । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घर भई हाल काठमाडौँको चन्द्रागिरि बस्ने ४६ वर्षे महतले आकर्षक तलब र सुविधासहित जागिर लगाइदिने भन्दै पीडित राजेन्द्र रानामगरसहित तीन जनासँग लाखौँ रुपैयाँ असुलेको आरोप छ । उनी प्रतिव्यक्ति १० लाख रुपैयाँ खर्चा लाग्ने भन्दै तीन जनाबाट पटक–पटक गरेर १९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । 

पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमार्फत् प्रहरीले उनको खोजी गरेको थियो । हाल उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जानकारी गराएको छ ।

टिप्पणीहरू