मुख्यमन्त्रीलाई खुकुरी हान्ने तारानिधि पन्त स्रोत नखुलेको रकमसहित समातिए
नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव रमेश भनिने तारानिधि पन्त स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् । गत माघ ५ र पुस ३० गते जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनीसहित ६ जनालाई पक्रेको हो ।
समातिनेमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव रमेश भनिने तारानिधि पन्त,श्रवण त्रिपाठी,प्रह्लाद चापागाई,सनम बस्नेत,शिव चापागाई र कृष्ण दाहाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको टोलीले मधुवनी बजारबाट भारततर्फ जाँदै गरेका तारानिधि पन्त र श्रवण त्रिपाठीको झोला जाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख ३३ हजार रकम फेला पारेको हो ।
त्यस्तै,प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको टोलीले बरहथवाबाट भारततर्फ जाँदै गरेको कारको जाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख ४५ हजार रकमसहित अन्य चार जनालाई समातेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले दुवै समूहविरुध्द अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको बताएका छन् ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार निकट तारानिधि पन्तले २०६८ साल भाद्र १० गते काठमाडौँको बबरमहलमा अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालिन अध्यक्ष शालिकराम जम्कट्टेल (हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि खुकुरी प्रहार गरेका थिए ।
त्यसबेला माओवादी मजदुर संगठनकोबसचिव तथा होटल मजदुर युनियन संघको अध्यक्षसमेत रहेका पन्तलाई २०६८ साल कात्तिक २३ गते अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै कुनैपनि कमिटी र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको थियो ।
तर,एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएर जिफन्ट सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए । यसरी पहिला नै अपराधिक काण्डमा मुछिएका उनले फेरि पनि त्यस्तै हर्कत दोहोर्याएका हुन् ।
टिप्पणीहरू