नेपाल एअरलाइन्सले थाल्यो विदेशी पर्यटक भित्र्याउने पहल

नेपाल एअरलाइन्सले थाल्यो विदेशी पर्यटक भित्र्याउने पहल

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उच्च व्यस्वस्थापनले टिकट बिक्री बढाउने र विदेशी पर्यटकहरु भित्र्याउन थप पहल गरेको छ । निगमले टुर एण्ड ट्राभल एजेन्टका प्रतिनिधिहरुसँग अन्तरक्रिया सम्पन्न गरेको बताइएको छ । 

अन्तरक्रियामा न्यायोचित र सरलीकृत ढंगमा टिकटहरुको बिक्री व्यवस्थापन गर्ने, ग्रुप फेयर गर्ने, ग्रस फेयर र भोइड टिकट चार्जलगायत विषयमा विस्तृत छलफल गरिएको हो । उक्त छलफलमा उठेका विषयलाई निचोडमा पुर्याउन निगम र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सबाट दुबैतर्फका चार–चार जना रहेको कार्यदल बनाइएको छ । कार्यदललाई १५ दिनको समय दिएर अध्ययनपछि प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । 

कार्यदलमा निगमका तर्फबाट वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, उप–निर्देशक सन्तोष पाण्डे, अर्थ विभागका निर्देशक उमेश पौडेल र साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अनिल घिमिरे छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र सदस्य सवला भण्डारीले ट्राभल एजेन्ट्सबाट कार्यदलमा प्रतिनिधित्व गरेका हुन् ।

छलफलमा निगमका कार्यकारी निर्देशक युवराज अधिकारी, सञ्चालकहरु क्याप्टेन सुधिर राई, अमृतमान श्रेष्ठ र सम्बन्धित विभागीय प्रमुखहरुको उपस्थिति थियो । त्यस्तै, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापासहित कार्यसमितिका पदाधिकारीहरु पनि छलफलमा रहेको बताइएको छ ।

टिप्पणीहरू