कुलमानलाई हटाउन गोप्यपत्र चलान
सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आज पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा,जलस्रोत तथा सिन्चाई मन्त्रालयले गोप्य,अत्यन्त जरुरी पत्र भन्दै घिसिङलाई आज साँझ पत्र बुझाएको बुझिएको छ ।
सचिव सुरेश आचार्यले हस्ताक्षर गरेर साँझ बुझाइएको स्पष्टीकरण पत्रमा ९ वटा बुँदा रहेको मन्त्रालय स्रोतले बतायो । स्रोत भन्छ, ‘मंसिर ४ गतेको पत्रमार्फत् सोधिएको कार्य सम्पादनसम्बन्धी विवरणसमेत पेश नगरेको कारण जनाउँदै आज अर्को पत्र पठाइएको छ ।’
कुलमानमाथि प्राधिकरण सञ्चालक समितिको बैठकहरुमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादा विपरितका कार्यहरु गरेको आरोप लगाइएको छ । बुँदा नम्बर ४ मा पुस ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेर प्राधिकरण ऐन २०४१ को दफा २५ को उल्लंघन गरी नेपाल सरकारको अवज्ञा गरेको गम्भीर आरोप लगाइएको छ ।
सचिव सुरेश आचार्यले हस्ताक्षर गरेर साँझ बुझाइएको स्पष्टीकरण पत्रमा ९ वटा बुँदा रहेको मन्त्रालय स्रोतले बतायो ।
बुँदा नम्बर २ मा असोज २२ गतेको पत्र मार्फत् सोधिएको ट्रान्सफरमर खरिदमा व्यापक अनियमितता भएको गुनासो लगायतका १५ बुँदे विवरणहरु तोकिएको तर समयभित्र उलब्ध नगराएको उल्लेख छ । मंसिर ४ गतेको पत्रसाथ तीमध्येका विवरण उपलब्ध गराउँदा पनि अधिकांश विवरणहरु आफैँमा अपुरो र वास्तवमा खोजेको वा मागेको भन्दा बाहिर गई गोलमटोल रुपमा जवाफ दिएर मन्त्रालयको भूमिकालाई नजरअन्दाज गरेको सरकारको आरोप छ ।
बुँदा नम्बर ५ मा बोर्ड समक्ष पेश गर्नुपर्ने कार्य सम्झौताको अघिल्लो वर्षको कार्यसम्पादन पुनरावलोकनबारे सोधनी गरिएको पाइएको छ । भदौ मसान्तसम्म बुझाउनुपर्ने कार्यसम्पादन विवरण पुस २२ गतेसम्म ११२ दिन नाघिसक्दा पनि उपलब्ध नगराएकाले कार्यसम्पादन सम्झौताको पालना नभएको मन्त्रालयको ठहर छ ।
स्पष्टीकरणमा सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त नआएमा कानुनबमोजिम थप प्रक्रिया अगाडि बढाइने मन्त्रालयको आजैको निर्णयमा उल्लेख छ ।
टिप्पणीहरू