प्रचण्ड भेट्न केपी ओली फेरि बालुवाटार, राष्ट्रपतिको गाँठो कहिले फुक्ला ?

प्रचण्ड भेट्न केपी ओली फेरि बालुवाटार, राष्ट्रपतिको गाँठो कहिले फुक्ला ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान बालुवाटार पुगेर उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । 

प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटार आउजाउ बाक्लो बनाउनुभएका ओली दैनिकजसो भेटघाटमा हुनुहुन्छ । सत्ता गठबन्धनका मुख्य नेताको रुपमा उहाँ र प्रधानमन्त्री प्रचण्डको भेटघाट मुख्यत: पदीय भागबण्डा मिलाउनेमै केन्दृत रहने गरेको छ । 

पछिल्ला भेटवार्ताहरु आगामी राष्ट्रपतिको निर्वाचन केन्द्रित हुने गरेको बताइन्छ । सत्ता गठबन्धनमा राष्ट्रपति र सभामुखको भागबण्डा मिलिसकेको भनिए पनि माओवादीतर्फबाट त्यस्तो सहमति नभएको दावी सार्वजनिक हुन थालेको छ भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि काँग्रेससहितको सहकार्यमा जोड दिरहनुभएको छ । 

सत्ता गठबन्धन टुटाउने घोषित नीतिमा रहेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माओवादीसँग निकटता बढाएको छ । जुनसुकै हालतमा राष्ट्रपति एमालेको पोल्टामा जान नदिने योजनामा रहेको कांग्रेसले राष्ट्रपतिको निर्वाचनसम्ममात्रै सत्ता गठबन्धन कायम रहने बताएको छ भने माओवादी अहिलेसम्म बोलेको छैन । एमाले भने गठबन्धन कायम राखेर त्यसैको बलमा राष्ट्रपति हात पार्ने दाउमा देखिन्छ । 

संसदको अंकगणित जस्तै राष्ट्रपति चुनावमा पनि माओवादी जता उभियो त्यतै पल्लाभारी हुने अवस्था रहेकाले एमाले अध्यक्षको दौडधुप बढेको हो ।  एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा इश्वर पोख्रेल,सुवास नेम्वाङ,गुरु बराल,डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ । रामचन्द्र पौडेललाई अघि सारेको काँग्रेसले प्रचण्डको मुड बुझेपछि कृष्ण सिटौलालाई उमेदवार बनाउने तयारी गरेको बताइन्छ । यता, माओवादीले पनि राष्ट्रिय सहमति नहुँदा आफ्नै उम्मेदवार खडा गर्ने सम्भावना देखिन्छ । त्यसपछि परिणामबिहीन निर्वाचन भैरहने र धेरै चरणपछि बाबुराम भट्टराई, खिलराज रेग्मीजस्ता पात्रका नाममा समझदारी जुट्ने सम्भावनाको पनि राजनीतिक वृत्तमा अड्कल गरिएको छ । 

 तर, अहिलेसम्म राष्ट्रपति निर्वाचनको मिति तोकिएको छैन । अहिलेका राष्ट्रपतिको कार्यकाल चैत्र २५ गते सकिंदैछ । त्यसको एक महिना अगावै नयाँ राष्ट्रपति निर्वाचित भैसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार फागुन २५ अघि नै चुनाव हुनुपर्ने हो । तर, निर्वाचन आयोगले अहिलेसम्म प्रक्रिया शुरु गरेको छैन ।

टिप्पणीहरू