आत्मदाह गरी प्राण फालेका प्रेमलाई शहीद घोषणा गर्न माग
नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरि बुधबार अस्पतालमा निधन भएका प्रेमप्रसाद आचार्यको परिवारले १० बुँदे माग सार्वजनिक गरेको छ ।
सरकारसमक्ष १० बुँदे माग राख्दै सो दिवंगत आचार्यका परिवार र आफन्तहरुले पूरा हुने सुनिस्चितता नभएसम्म शव नउठाउने अडानसमेत राखेका छन् । आचार्यले मृत्युअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका २५ बुँदे सुझावहरु सम्बोधन हुनुपर्ने बताउँदै उनको परिवारले मर्न बाध्य पार्नेहरुलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएको छ ।
आचार्यको परिवारले किसान र कृषिउपजलाई बिना अवरोध नगदमा कारोबार गर्ने व्यवस्था मिलाएर बैंक तथा वित्तिय संस्थाले गरिरहेको चर्को ब्याजदर कम गर्न तथा सरल कर्जा सहजरुपमा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । त्यस्तै, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गर्दिनुपर्ने, नाबालक सन्तानलाई चाहेको विद्यालयदेखि निःशुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी हुनुपर्ने, आर्थिक लेनदेन तथा उधारो बजारसम्बन्धी कानून तत्काल ल्याउनुपर्ने, स्वर्गीय आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने परिवारको माग छ ।
आफूहरुले उठाएका माग पूरा गर्ने लिखित सम्झौता राज्यबाट नभएसम्म शव नउठाउने र दाहसंस्कार नगर्ने उनीहरुले अडान लिएका छन् ।
टिप्पणीहरू