शंकाको घेरामा मोटरसाइकलमा दुबै जनाले हेल्मेट लगाउने निर्णय

शंकाको घेरामा मोटरसाइकलमा दुबै जनाले हेल्मेट लगाउने निर्णय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफलमा दुई पाङ्ग्रे सवारीसाधनको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषय उठाइएको सन्दर्भ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र बिरोधमा सरोबर धारणा देखिएको छ । 

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्वबारे बुझ्न आवश्यक रहेको औंल्याउँदा मात्रै पनि सामाजिक सञ्जालमा यसको समर्थन र विरोध भएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनुपर्ने व्यवस्था छ । ऐनमा स्पष्ट रुपमा लेखिएको छ, ‘दुई पाङ्ग्रे सवारी साधन चलाउँदा चालक तथा सो सवारी साधनको पछाडि बस्नेले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’ तर, यो कहिल्यै पनि पूर्ण रुपले कार्यान्वयनमा आउन सकेको छैन । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६५ सालमा दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो । केही समय उक्त नियमलाई प्रहरीले अनिवार्य गर्न खोजेको थियो । तर, उक्त नियमलाई बाध्यकारी बनाइएपछि ट्राफिक प्रहरीसँगै सरकारलेसमेत विभिन्न आलोचना खेप्नु पर्यो । चौतर्फी विरोध तथा आलोचना भएपछि ट्राफिकको उक्त प्रयास असफल बनेको हो । 

त्यस्तै, २०७६ जेठ ५ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुनः उक्त ऐन तथा नियम कार्यान्वयनमा ल्याउने निर्णय गर्यो । तर, सामाजिक सञ्जालमा पुनः चर्को विरोध भएपछि कार्यान्वयनमा ल्याइएको भोलिपल्ट निर्णय फिर्ता लिन महाशाखा बाध्य भएको हो । 

दुई पाङ्ग्रे सवारी दुर्घटना धेरै हुने तर त्यसमा पछाडि बस्नेको हेड इन्जुरीका कारण मृत्युदर बढी देखिएकाले पछाडि बसेर यात्रा गर्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्नेमा ट्राफिकले जोड दिँदै आएको छ । तर यसलाई आर्थिक चलखेल र कमिसनसँग जोडेर दुस्प्रचार गरेपछि कार्यान्वयन पक्ष सँधै फितलो हुने गरेको छ । 

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः उक्त नियम कार्यान्वयनमा ल्याउन खोजेको बताइन्छ । यसपटक पनि सरकारी निर्णय पहिलेझैँ तुहिन्छ कि कार्यान्वयनमा आउँछ ? भन्नेमा सर्वसाधारणको चासो बढ्दो छ । 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवप्रसाद नेपाल दुर्घटना न्यूनीकरणका लागि मन्त्रालयद्वारा सवारी तथा यातायात व्यवस्था ऐनमा भएको नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन खोज्दा सामाजिक सञ्जालमा कतिपयले यसलाई विभिन्न दृष्टिकोणबाट हेरिरहेको बताउँछन् ।  

उनले भने, ‘पछिल्लो समय नेपालमा सवारी साधन दुर्घटनाको संख्या धेरै हुन थालेको छ । यही क्रमले दुर्घटना बढ्दै जाने हो भने यसले देशको जन र धनमा अपूरणीय क्षति पुग्ने निश्चित छ ।’

दुर्घटनामा पर्ने प्रायः सवारीमा दुई पाङ्ग्रे नै रहेको उनी सुनाउँछन् । उक्त सवारी साधनमा सीट बेल्ट नहुने र प्रकृति पनि फरक भएकाले सवारी चालक र पछाडि सीटमा सवार व्यक्ति दुर्घटनामा परेको अवस्थामा बाँच्ने सम्भावना निकै कम हुने बताउँछन् । 

उनी भन्छन्, ‘दुई पाङ्ग्रे सवारी चालकले त हेल्मेट लगाएको हुन्छ । यसले दुर्घटनामा उसको टाउकोमा लाग्ने गम्भीर चोटपटकबाट एक हदसम्म बच्न सक्छ । तर पछाडि बसेको व्यक्तिले हेल्मेट नलगाउँदा उसको हेड इञ्जुरी र निधनको सम्भावना बढी हुन्छ ।’ 

सोही कारण उनले मोटरसाइकल तथा स्कुटरको पछाडि सवार व्यक्तिले पनि हेल्मेटको प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म सडक सवारी दुर्घटनाको संख्या १० हजार ७ सय ३३ छ । दुर्घटनाबाट ज्यान गुमाएकाको कुल संख्या १ सय ९१ पुगेके छ । 
जसमा दुई पाङ्ग्रे सवारी साधन दुर्घटनाको मात्रै कुल संख्या ८ हजार ३ सय ६३ छ । उक्त संख्या कुल सवारी दुर्घटनाको झण्डै ८० प्रतिशत हुन आउँछ । ती दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८२ जना पुगेको छ । उक्त संख्या पनि कुल संख्याको ४० प्रतिशत हो । 

कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी दुर्घटनामा पर्ने अधिंकाश सवारीसाधन दुई पाङ्ग्रे सवारी साधन नै रहेको बताए । उनले अन्य सवारी दुर्घटनाको तुलनामा दुई पाङ्ग्रे सवारीबाट हुने दुर्घटना क्रमशः बढ्दै गएको आँकडा सुनाए । यसलाई नियन्त्रण र न्यूनीकरण गर्न नागरिक आफैँ पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । 

ट्राफिक प्रहरीद्वारा दुर्घटना न्यूनीकरणको निम्ति पटक पटक दुई पाङ्ग्रे सवारी चालक र सो सवारीमा सवार यात्रुलाई हेल्मेटको अनिवार्य प्रयोग निम्ति सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा ल्याउन खोज्दा यसको चौतर्फी विरोध भएकोमा उनको गुनासो छ । 

उनले भने, ‘हामीले नागरिकको सुरक्षाका लागि हेल्मेल्टको अनिवार्य प्रयोगमा जोड दिएका हौं । तर, नागरिक आफैंमा सचेत नभएसम्म सरकार र ट्राफिक प्रहरीको प्रयासले मात्र यो सम्भव हुन सक्दैन ।’ 

प्रवक्ता भट्टले सुरक्षाको दृष्टिकोणमा हेल्मेट अनिवार्य लागू गर्ने नियम उत्तम रहेको उल्लेख गर्दै हेल्मेट प्रयोगका कारण सवारी दुर्घटनामा शारीरिक रुपमा चोटपटक लागे पनि हेड इञ्जुरीजस्ता जटिल समस्याबाट जोगिँदा मानिसले अकालमै ज्यान गुमाउन नपर्ने बताए ।

टिप्पणीहरू