राष्ट्रपतिद्वारा सम्मानित कर्मचारी अख्तियारको फन्दामा

राष्ट्रपतिद्वारा सम्मानित कर्मचारी  अख्तियारको फन्दामा

मालपोत कार्यालय,ताप्लेजुङकी तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतविरुध्द विशेष अदालत, काठमाडौंमा दर्ता भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतविरुध्द पनि आरोपपत्र दायर भएको छ । 

प्रतिकूल बकपत्र गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भावनाविरुध्द विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । डेढ लाख रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा खेपेकी पनेरुले घुसवापत लिएको रकम भावनाले सुरक्षितसँग राखिदिने गरेको पत्रमा उल्लेख छ । प्रतिवादी भावनालाई सरकारी साक्षी बनाएर पनेरुले प्रतिकूल हुने गरी बकपत्र गर्न लगाएको अनुसन्धानको क्रममा खुलेको अख्तियारले जनाएको छ ।

‘अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत,काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा निजले गरेको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि हुन आएको’,पत्रमा उल्लेख छ । भावनाद्वारा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (घ) बमोजिमको मतियार कसूर भएको अख्तियारको ठहर छ । 

अख्तियारले भावनाउपर डेढ लाख रुपैयाँ बिगो कायम गरी मतियार कसूरमा भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम राष्ट्रसेवकलाई हुने सजायको आधा हुनुपर्ने मागदाबी लिएको छ । 

तत्कालीन अधिकृत पनेरु राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानित कर्मचारीसमेत हुन् ।


 

टिप्पणीहरू