मागपत्र बोकेर मुस्लिम इत्तेहाद कांग्रेस सभापतिको दैलोमा

मागपत्र बोकेर मुस्लिम इत्तेहाद कांग्रेस सभापतिको दैलोमा

मुस्लिम इत्तेहाद संगठनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ । देउवा निवास धुम्बाराही पुगेर संगठनका अध्यक्ष ताज मोहम्मद मियाको नेतृत्वको टोलीले विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको हो ।

पत्रमा आफ्ना माग पूरा गर्न पार्टीका तर्फबाट विशेष पहल गरीदिन देउवासँग  आग्रह गरिएको छ । त्यस्तै, मागपत्रमा मुस्लिम समुदायको राजनीतिक सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा पहुँच तथा विकासको लागि गर्नुपर्ने कामको विषयमा उल्लेख गरिएको छ । 

बहुसंख्यक गरिबीबाट पिल्सिएकाहरू अहिले सामान्य जीवनयापनको लागि पनि अप्ठ्यारोमा रहेको, उनीहरु शिक्षा, स्वास्थ्य, रोजगारको अवसरबाट बञ्चित हुनुपरेको साथै यसमा आम मुस्लिम महिलाहरूको अवस्था अझ दर्दनाक रहेकोप्रति ध्यानाकर्षण गराउँदै विशेष नीति बनाउनुपर्नेमा जोड दिइएको छ ।

संविधानमा भएको व्यवस्थाहरुलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि आवश्यक ऐन नियमहरू बनाउनुका साथै संशोधन गर्न पनि पत्रमा भनिएको छ । वर्तमान निर्वाचन निर्देशिका अनुसार परिभाषित ६ वटा क्लस्टरमध्ये तुलनात्मक रूपमा कम मुस्लिम जनसंख्या रहेका बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समानुपातिक निर्वाचनबाट प्रदेशसभामा मुस्लिम समुदाय समावेश भएर जाने अवस्था नै नरहेको हुँदा ति प्रदेशमा पनि मुस्लिम समुदायलाई समेट्ने गरी निर्देशिका संशोधन गर्न पनि माग गरिएको छ ।

 प्रतिनिधि मण्डलसँगको भेटका क्रममा सभापति देउवाले सो समुदायका मागप्रति आफू सकारात्मक रहेको र ति विषयहरुलाई पूर्णता दिन आफूले सरकारसमक्ष पहल गर्ने प्रतिवद्धता जनाउनुभएको संगठनका अध्यक्ष मियाँले जानकारी दिए । केही दिनअघि उक्त संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराएको थियो ।

टिप्पणीहरू