कमरेडहरू हायलकायल

कमरेडहरू हायलकायल

नयाँखाले मोर्चाबन्दीसँगै सत्ता राजनीतिमा कोर्ष करेक्सनको अभ्यास शुरु भएको छ । यसअघि पार्टी एकता, गठबन्धन र सहकार्यहरू त चले, तर अहिले भित्रभित्रै सुरसार भइरहेको मोर्चाको अभ्यास भने त्यति भएका थिएनन् ।मिल्न सक्ने कम्युनिष्टहरूका बीचमा एकताको आधार खोजी गर्न तत्काल मोर्चाबन्दी गर्ने गरी उनीहरू अगाडि बढेका छन् । सकेसम्म ‘समाजवादी कम्युनिष्ट केन्द्र’ का नाममा मोर्चा बनाउने, तर मोर्चामा सामेल दलहरूले दलीय गतिविधि आ–आफ्नै ढंगले गर्ने सहमति भएको छ । 

यो कुराको टुंगो एसका माधवकुमार नेपाल र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच १९ गते सम्पन्न भेटमा भएको हो । त्यसदिन एसको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पुग्नेबित्तिकै नारायणकाजीले ‘एकता गर्ने भए अब राजनीतिक लाइन क्लियर गरौँ’ भन्नुभएको थियो । त्यहाँ माधव नेपालसहित उहाँको पार्टीका महासचिव डा.बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल, डा.गंगालाल तुलाधरसहितका नेता थिए । डा.विजयले जवाफ दिए, ‘सरकारलाई समर्थन गरेर पनि हामी प्रतिपक्षमा बसेका छौँ । तपाईं कुरा क्लियर गरौँ भन्नुहुन्छ ।

तपाईंहरू केपी ओलीसँग मिलेर सरकार बनाउने, अनि हामीले लाइन क्लियर गर्नुपर्ने कुरा के हो त ?’ यसो भनेपछि नारायणकाजीले ओलीप्रतिको वितृष्णा व्यक्त गर्नुभयो । ‘ओलीजी बेइमान रहेछन्, नचाहिने कुरामा प्रेसर गर्दा रहेछन्’ उहाँले भन्नुभयो, ‘एक महिनामै यस्तो हैरान गराउँछन्, कसरी सँगै जान सकिएला र खै ! ’ एसका नेताहरूले जवाफ दिए, ‘ओलीको साथ छाडिदिनुस्, हामी सत्तामा आउँला, कांग्रेस पनि आइहाल्छ ।’ 

भेटकै क्रममा एकताको कुरालाई अझै परिपक्व बनाउन बाँकी रहेको भन्दै मोर्चा बनाउनेबारे सहमति भएको छ । एकीकृत समाजवादी र जसपाका बीचमा माघ महिनाभित्रमै मोर्चा बन्ने निश्चित भइसकेको छ । सोमबार विप्लव र प्रचण्डका बीच भएको कुराकानीमा पनि कम्युनिष्ट केन्द्रका रूपमा मोर्चाबन्दी गर्ने सहमति भएको छ । यद्यपि, विप्लवले अझै पनि मुद्दा र थुनामा रहेका कार्यकर्ताको पक्षमा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । विकसित घटनाक्रमअनुसार, नयाँ समीकरण बन्यो भने एमाले सरकार बाहिर र कांग्रेससहितको समर्थनमा प्रचण्डसँग सरकार चलाउन संख्या पुग्ने स्थिति देखिन्छ ।

टिप्पणीहरू