अमेरिकामा बस्नेको फेसबुक ह्याक गरेर नेपालमा पैसा उठाउने धन्दा

अमेरिकामा बस्नेको फेसबुक ह्याक गरेर नेपालमा पैसा उठाउने धन्दा

अमेरिकामा बस्दै आएका एक नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका–१९, लामाचौरका २३ वर्षीय आशिष परियार ठगीको अभियोगमा समातिएका हुन् । अमेरिकामा बस्दै आएका अर्कै व्यक्तिको फेसबुक ह्याक गरेर नेपालमा रहेका उनका साथीसँग विभिन्न बहाना बनाएर परियारले रकम माग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । यसरी सहयोग मागेपछि पीडितले पनि नेपाल बैंकको खातामा पैसा जम्मा गरिदिएको प्रहरीको भनाइ छ । 

तर, पैसा दिएको तीन चार दिनसम्म पनि उनी सम्पर्कमा नआएपछि पीडित आफैंले उनका साथीमार्फत् ती व्यक्तिको फेसबुक एकाउन्ट ह्याक भएको थाहा भएपछि प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आज नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका परियारमाथि साइबर अपराधसम्बद्ध ठगी अपराधअन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट दुई दिन म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू