एकचोटि मन्त्री बनाए काम तमाम

एकचोटि मन्त्री बनाए काम तमाम

एउटा मान्छे ‘नेता’ त बन्छ, तर उसको असलियत खुल्न एकपटक सत्तारुढ भइदिए पुग्ने रहेछ भन्ने कुरा राजेन्द्र लिङ्देनका हकमा पनि लागु हुँदै छ । ‘भ्रष्टाचारको पैसा खानु आमाको रगत पिउनुसरह हो’ भन्नेमाथि अहिले पाँच करोडमा कसैलाई मन्त्री बनाएको बात लागेको छ ।

पार्टी खोलेको तीन महिनामा २० सीट, अर्को महिना उपप्रधानमन्त्रीसहितको चार मन्त्रालय, ३२ दिनपछि सांसददेखि मन्त्री बदर, हुँदाहुँदै ४२ औँ दिनमा पार्टी नै सरकारबाट बाहिर हुने रवि लामिछानेको नाटकीय उदय र पतन देखिरहेका जनताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत चिन्न धेरै दिन लाग्लाजस्तो छैन । किनभने, अनेकन सांसद हुँदाहुँदै भ्रष्टाचार मुद्दा नै लागेका विक्रम पाण्डे स्वार्थ बाझिने मन्त्रालयमा बहाली गराइए, लिङ्देनकै कृपाले । पर्यटन मन्त्रालय ताकेर बसेका महामन्त्री धवलसमशेर राणा स्वयंले अध्यक्षमाथि पाण्डेलाई पाँच करोड लिएर मन्त्री बनाएको आरोप लगाइरहेका छन् । उक्त कुराको वास्तविकता पार्टीका नेताहरूले नै जानुन् ।

नेताहरू भन्न थालेका छन्, रवि, लिङ्देन र केपी ओलीको स्वभाव मिल्छ, मनमा लागेपछि लाग्यो–लाग्यो । विक्रमलाई मन्त्री बनाउन मन लाग्यो, कसैले नमान्दा नमान्दै पनि बनाई छाडे । अहिलेको सरकारमा राप्रपाले पाएको उर्जा, कानुन र शहरी विकास मन्त्रालय हुन् । त्यसमध्ये कानुन मन्त्रालय पठाइएका ध्रुवबहादुर प्रधान कानुनी सुझबुझ भएका मानिन्छन् । किनभने, उनी प्रहरीको सर्वोच्च पद आइजिपीसम्म पुगिसकेका व्यक्ति परे । तर, यसअघि उक्त मन्त्रालय महेश्वरप्रसाद सिंह, प्रेमबहादुर सिंह, भीमबहादुर तामाङ, दिलमान तामाङ, मणि लामा, शेरबहादुर तामाङलगायत पावर नपुग्नेहरूलाई, भूमिकाविहीन बनाइनका लागि पठाइने ठाउँ मानिन्थ्यो । जस्तो कि, ओलीलाई उपेन्द्र यादव मन नपरेपछि विदेश गएको बेला स्वास्थ्य मन्त्रालयबाट फ्याँकेर त्यहाँ पठाइयो । 

टिप्पणीहरू