सारालाई छक्याउन सक्ने अचम्मकी स्त्री

सारालाई छक्याउन सक्ने अचम्मकी स्त्री

बार्बिकन, मध्यलण्डनस्थित एउटा बस्ती हो, जहाँ यतिखेर ठूलो मानवबस्ती छ, ठुल्ठूला भवन छन्, जता हेर्‍यो त्यतै सपिङ मल छन् । तर, १६ औं शताब्दीमा यहाँ छाप्रैछाप्रा मात्र थिए, सानातिना बजार थियो । जेम्स डे लण्डन शहरनिवासी हीरा ब्यापारी हुन् । घुँडामाथिसम्म पुग्ने जुत्ता लगाउनु उनको ठूलो सोख थियो । सन् १५९४ को एकदिन उनी भिक्टोरिया बग्गी चढेर चाहेअनुसारको जुत्ता पाइने बिगफ्रीथ पुगे । त्यो जमानामा बैंकिङ कारोबार सहज थिएन भने आजको जस्तो अनलाइन पेमेन्ट हुँदैनथ्यो त्यसैले नगदको झोला बोकेर बग्गीबाट ओर्ले र पसलमा पसी मन पर्ने जुत्ता रोज्न थाले । जब भुक्तानी दिन लागे ठीक त्यसैबेला करिब १० वर्ष जतिका एउटा केटी दगुर्दै  नजिक पुगिन् । पसलको साहुजी रोनले ‘यो मेरी छोरी मेरी फ्रीथ हो’ भनेर चिनाएपछि जेम्स अकमक्क परे ।

जेम्सले सोधे ‘छोरी, तिम्रो बुबाले जुत्ता सिलाउने कुरा तिमीलाई थाहा छ ?’

ती किशोरीले कतिखेर दराजभित्रबाट चुच्चो हिलवाला छालाको जुत्ता निकालिन् र प्रहार गरिन् उनले सोच्नै सकेनन् । कपाल नभएको टाउको सुम्सुम्याउन पुग्दा मात्र हेक्का भयो, ठूलो टुटुल्को उठिसकेको रहेछ । 

त्यसपछि बल्ल मेरी नाउँकी ती किशोरीले जवाफ फर्काइन् ‘मलाई थाहा छ ।’

 पसलमा कार्यरत मजदुर र तमाशा हेर्न ढोकामा उभिन पुगेको भीड गललल हाँस्योे ।

रोन र क्याथरिन स्टुवार्टकी एक्ली छोरी मेरीको बानीब्यहोरा यस्तै थियो । यसरी नै ५ वर्ष बित्यो । त्यतिञ्जेलसम्म छोरीको आनीबानीमा सुधार आओस् भनी इशामसिहासित प्रार्थना गर्दागर्दै आमाबुबाको निधन भइसकेको थियो । तर, मेरीमा कुनै परिवर्तन देखा परेन । उनलाई घरेलु बनाउने हेतुले गरिएका सबै प्रयास बालुवामा पानी हालेसरह ब्यर्थ भयो । जब टोलका चोर, गुण्डा, लफंगाको संगतमा फसिन्, उनलाई संरक्षण दिइरहेका नातेदार पनि भाग्न थाले । मेरी घुम्न खुब मन पराउँथिन् । एकदिन घुम्न लाने भन्दै मामाले पानीजहाजमा बसाले । मेरीलाई लाग्यो, मामा, माइजू पनि मेरो पिछा छुटाउन चाहन्छन् र घुमाउने बहानामा जहाज चढाएका हुन् । उनले एक मीनेट बिलम्ब गरिनन् र पानीमा हाम्फालिहालिन् ।

पौडी खेल्दै किनारमा पुगिन् । जुन स्थानमा पुगिन् त्यो न्युइङल्याण्डको बन्दरगाह थियो । उक्त बन्दरगाहमा चोर, लुटेराजस्ता अपराधीको बिगबिगी थियो । मेरीको बानीब्यहोरा पनि उनीहरूसित मिल्दोजुल्दो थियो । फेरि बाँच्नको लागि कसैको सहारा लिनै पथ्र्याे । त्यसै सिलसिलामा जुन अपराधीको जत्थासित मिलेर काम गरिन्, त्यहाँको आम्दानी चित्तबुझ्दो भएन । अत्यन्त दुब्ली र रूपरंग पनि नराम्री मेरीले एक्लै जीवनयापन गर्ने सोच बनाइन् र बन्दरगाह र नजिकैको शहरको सडकमा हिँड्ने बटुवाहरूको पकेट मार्न र झोला लुट्न थालिन् । युवावस्थामा प्रवेश सँगसँगै उनको अनुहारमा खटिरा देखिन थाल्यो । झनै नराम्री देखिने उनी केटाको भेषभूषामा हिँड्न थालिन् ।

त्यस बखत, स्त्री होउन् वा पुरुष सबैजनाले कम्मर पेटीमै हुने सानो ब्यागमा पैसा राखेर हिँड्ने गर्थे, जसकारण पकेटमाराहरूलाई सजिलो हुन्थ्यो । मेरीले पनि यो फेसनबाट मनग्य लाभ उठाइन् । यस क्रममा यतिधेरै मानिसको पकेट मारिन् कि ‘पकेटमार ठिटी’ को नाउँले कुख्यात नै बन्न पुगिन् । सन् १६१० मा २६ वर्षकी हुँदासम्म निकै कुख्यात बनिसकेकी उनीबारे एक जना लेखकले पुस्तक लेखे भने नाटककार थोमस मिडलटनले ‘गर्जने ठिटी’ नामक नाटक लेखेर मञ्चन गरे । उनले नाटकमा देखाएको कुरो के हो भने ब्रिटेनका सबै महिला शिष्ट र सुशील छैनन्, स्वर मच्चाउने, गर्जने, मानिसको होश उडाउने र पुरुषलाई माथ गर्ने युवती पनि छन्, यसको ज्वलन्त उदाहरण – मेरी फ्रीथ हुन् ।

नाटककार मिडलटनको नाटकबाट मेरीलाई बेफाइदा भएन बरु उनको कुख्याति ब्रिटेनभरि मात्र होइन फ्रान्स, रुस, जर्मनी, अष्ट्रेलियासम्म पुग्यो । यसबीच उनी ५ पटक जेल परिन् । एकपटक त वेश्यावृत्ति गरेको, सार्वजनिक स्थलमा अश्लिल हाउभाउ गरेको र अश्लिल शब्द बोलेर गालीगलौज गरेको अपराधमा पक्राउ परिन् । यातना दिने क्रममा प्रहरीले हरेक पटक हात तातोपानीमा चोपेर जलाइदिने, पातलो र लामोलामो औंला बुटले कुल्चेर छियाछिया पारिदिने गर्थे । तर, मेरीको हिम्मतलाई यी यातनाले पनि लछारपटार लगाउन सकेन । उल्टो उनी झन रणचण्डी बनिन् । झन खुंखार । पकेट मार्ने काम छाडेर लुटेरा बन्ने साहस गरिन् ।

अर्को वर्षदेखि झन् महामारीको रूपमा हलचल मच्चाइन् । सडकमा भए जो–कोही उनलाई सुरक्षा कर नतिरी हिँड्न नसक्ने बने । एउटा बैंकबाट अर्को बैंकमा पैसा ओसार्दा गाडीको अगाडिपछाडि कम्तीमा ५० जना सुरक्षाकर्मी नराखी हिँड्नै नसक्ने अवस्था सिर्जना भयो । त्यति गर्दा पनि सरकारी पैसा लुटिने क्रम कम भएन । मेरीले अनेक उपाय अपनाएर सबैलाई जिल्ल्याउन थालिन् । यहाँसम्म कि कमनवेल्थ मुलुकमा कार्यरत ब्रिटिश सैनिक जवानको तलब बोकेर हिँडेको गाडीसमेत लुट्न सफल बनिन् । यो घटनाले बृटिश सेना लज्जित बन्नुपर्‍यो । मेरीलाई आफूले जति ठूलो अपराध गरे पनि कहिल्यै पश्चात्ताप हुन्नथ्यो । लुटेको पैसाले बिलासी बन्न थालेकी थिइन् । बिलासी जीवनले उनको शरीर झन् बेडौल बनिसकेको थियो । तर अचम्म ! हात्तीको जत्रो शरीर भए पनि प्रहरीबाट बचेर भाग्ने बेला खरायोको गतिमा दौडिन्थिन् र क्षणभरमै छुमन्तर हुन्थिन् । प्रायः घोडामा हुन्थिन् । उक्त घोडाको नाउँ मोरक्को थियो ।

एकपटक जर्नेल हाउन्सले हिथलाई नै घेर्न पुगिन् । हाउन्स्लेको साथमा अन्य ५ जना सैनिक थिए । सबै घोडामा सवार अनि घोडाको पीठमा स्वर्णमुद्राको बोरा । भिडन्तमा मेरीको गोलीबाट ती पाँचैजना मारिए । जर्नेल हाउन्सेलाई भने मार्न चाहिनन्, विवश पारेर लुट्न चाहन्थिन् त्यसैले हाउन्स्लेको हातमा मात्र गोली हानिन् । हाउन्सले जसोतसो भागेर छाउनी पुगे । उनले मेरीको पछाडि सैनिक जत्था नै पठाए । मेरी भागिन् तर टर्नहैम ग्रीन भन्ने स्थानमा आइपुग्दानपुग्दै घोडा थाक्यो र थुचुक्क बसिदियो । मेरी तैपनि भाग्न खोजिन् तर सकिनन् र समातिइन् । उनलाई न्यूगेट जेलमा पठाइयो । मुद्दा चलाइयो । उनी दोषी प्रमाणित भइन् र ५ वर्षको जेल सजायँ भयो ।

वास्तवमा सजायँ तोकिएको दिन उनी आनन्दले उक्त जेलभन्दा २० माइल टाढाको एउटा धर्मशालामा सुतिराखेकी थिइन् । सजायँ सुनाइसकेपछि पनि जब उनकै लुट्ने शैलीमै दुई/चार लुटपाटको घटना भयो प्रहरी हैरान बन्यो । पछि थाहा भयो कि ती जेलमा सजायँ भोगिरहेकी मेरी हैनन् उनीजस्तै देखिने अर्की युवती रहिछन् । उनले मासिक २ हजार पौण्ड खर्च गरेर भाडामा अर्की युवतीलाई जेलमा सजायँ काट्न लगाएकी रहिछन् । उनी चर्च जान्थिन् र प्रार्थनामा संलग्न हुन्थिन् तर त्यस बखत पनि उनको साथमा पेस्तोल हुन्थ्यो ।

एकपटक उनले साथी विलियम बांकसित बाजी राखिन् कि भीडभाड हुने अदालत परिसरकै अगाडि घोडा चढेर आतेजाते गर्न सक्छु । अदालतअगाडि घोडा चढेर आउनुलाई अशोभनीय मानिन्थ्यो । तर, उनी पुरुष भेषभूषामा चुरोटको धुवाँ फ्याँक्दै जुलुससहित घोडा चढेर त्यहाँ पुगिन् । अझ जुलुसको अगाडि–अगाडि एकजना मानिसलाई सिङ बाजा फुक्दै हिँड्न लगाएकी थिइन् । अर्को पटक एकजना वकिलले उनको घरमा एउटा प्राचीन घडी देखे र प्रहरी बोलाएर जफत गर्न लगाए । उनीविरुद्ध अदालतमा मुद्दा पनि चलाइयो । तर, जब न्यायाधीशले प्रहरीसित घडी मागे, खल्ती छाम्दा भेटेन । मेरीले पकेट मारेर घडी हात पारिसकेकी रहिछन् । मेरीमाथि फेरि अर्को पटक मुद्दा चलाइयो ।

पछिल्लो पटकको मुद्दामा उनको सम्पूर्ण सम्पति जफत भयो । उनी सडकमा पुगिन् । दुई छाक खान धौधौ पर्‍यो । अन्त्यमा सडक वेश्या बनिन् । पछि वेश्यालय नै चलाइन् । उनको निधन ७५ वर्षको उमेरमा सन् १६५९ मा भयो । त्यसो त उनले बिहे नै नगरेकी भने होइन । ३० वर्षको उमेरमा नाटककार गेरभास मार्खमका छोरा ल्युकनोरसित गरेकी थिइन् । तर बिहे पनि दुनियाँको आँखा छल्न गरेको भन्ने थाहा पाएपछि टुट्यो । यथार्थमा उनी समलिंगी सम्बन्ध मन पराउँथिन् । उनका यौनसाथी कुलिन घरानाका विवाहित महिलाहरू हुन्थे । उनलाई इङ्ल्याण्डको पहिलो सिगार पिउने महिलाको रूपमा पनि लिने गरिन्छ ।

कुनै समय नाटकमा पुरुष बनेर पनि खेलेकी र गीत गाउन मन पराउने मेरीले मृत्युअगाडि इच्छापत्रमा लेखेकी थिइन्– ‘मेरा ३ जना नोकर्नी हरेकलाई १० पौण्ड दिनु, बाँकी सम्पत्ति भतिज फ्रीथलाई दिनु । मैले पालेको सुगालाई उडाइदिनु । मेरो शव सेन्टब्राइड चर्चको पछाडि गाड्नु । गाड्दा मेरो नितम्ब माथि र मुख तल रहोस्, मानिसलाई जे हेर्न इच्छा हुन्छ त्यो देखुन् । उनीहरूलाई लागोस् कि म मृत्युको समयसम्म पनि सुध्रिएको रहेनछु ।’
 

टिप्पणीहरू