युवराजको जाहेरी दर्ता गर्न आवश्यक छैन : सरकारी वकिलको कार्यालय

युवराजको जाहेरी दर्ता गर्न आवश्यक छैन : सरकारी वकिलको कार्यालय

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले समाजवादी केन्द्र, नेपालका वरिष्ठ नेता युवराज सफलले पेश गरेको जाहेरी दर्ता गर्न नपर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीको विषयमा अनुसन्धान गर्न माग गर्दै उनले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष कार्यालयको छ । 

सो विषयमा जिल्ला प्रहरी परिसर, टेकूमा अनुसन्धान भइरहेको उल्लेख गर्दै कार्यालयले पुनः जाहेरी दर्ता गर्न नपर्ने जानकारी दिएको छ । कार्यालयले भनेको छ,‘उपरोक्त विषयमा तपाईंले यस कार्यालयमा मिति २०७९–१०–२४ गते पेश गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकोले सोही विषयसम्बन्धी जाहेरी दरखास्त उपर यस कार्यालयबाट केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ ।’ 

आफ्नो जाहेरी प्रहरी कार्यालयले दर्ता नगरेको उल्लेख गर्दै नेता सफलले सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता गराएका थिए । जानाजान झूठो विवरण दिएर राहदानी लिएर राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (ख) बमोजिम कसूर गरेको हुनाले लामिछानेलाई राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्थाअनुसार ५ वर्षसम्म कैद र हदैसम्म जरिवाना गर्नुपर्ने माग उनको छ ।

टिप्पणीहरू