गहना लुटपाटसँगै श्रृंखलाबद्ध महिला हत्या : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहजिल्ला बागलुङमा गरगहना लुटपाटपछि महिलाहरुको हत्या भइरहेको बताउँनुभएको छ । उहाँले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा उक्त कुरा उल्लेख गर्नुभएको हो ।
केसी नेतृत्वको जनमोर्चा टोलीले प्रधानमन्त्रीलाई उहाँको सरकारी निवास बालुवाटारमा भेटेर त्यसबारे ध्यानाकर्षण गराएको छ । बागलुङको गलकोट क्षेत्रमा महिलाका गरगहना लुट्ने उद्देश्यले हालसम्म चार जनाको हत्या भएको जनमोर्चाको भनाइ छ ।
पछिल्ला दिनमा अन्य जिल्लामा पनि त्यस्ता दुःखद घटना भएको जनमोर्चाको भनाइ छ । ‘गरगहना लुटपाटका घटना बढेकाले महिलाहरू असुरक्षित भएका छन्,’ जनमोर्चाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भनेको छ, ‘राष्ट्रियता, संघीयता र जनजीविकाका सवालमा सरकार संवेदनशील बन्नुपर्यो ।’
जनमोर्चाको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले तत्काल नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई फोन गर्नुभएको बताइन्छ । उहाँले शान्ति सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन दिनुभएको बालुवाटार पुगेका एक जना नेताले बताए ।
प्रधानमन्त्री दाहालले पछिल्लो केही सातादेखि गृह मन्त्रालयको समेत जिम्मेवारी लिनुभएको छ । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिनुभएको हो ।
टिप्पणीहरू