राष्ट्रपतिमा अडान नछोड्न प्रचण्डलाई चित्रबहादुरको सुझाव
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राष्ट्रपतिमा आम सहमति खोज्ने अडानबाट पछि नहटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ । मुलुकमा प्रतिगमनको खतरा बढेको बताउँदै उहाँले माओवादीको अडानले मात्रै त्यसलाई रोक्नसक्ने भएकाले गम्भीर हुन प्रचण्डको ध्यानाकर्षण गराउनुभएको हो ।
आज बिहान प्रधानमन्त्री भेट्न पार्टीका केही नेतालाई लिएर बालुवाटार पुगेका केसीले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभएको थियो । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले नै मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुनेमा जनमोर्चाका नेताहरुले जोड दिएको प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रधानमन्त्रीसँगको भेटमा जनमोर्चाका नेताहरुले एमाले अध्यक्ष केपी ओलीनिकट मानिने दुर्गा प्रसाई 'मार्सी' ले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यलाई झापा लगेर आयोजना गरेको कार्यक्रम र त्यसको भोलिपल्ट प्रसाई र ओलीबीच भएको भेटवार्ताप्रति चासो राखेका थिए ।उक्त घटनाले पनि राष्ट्रपतिमा माओवादीले अडान छोड्न नहुने अध्यक्ष केसीको तर्कमा प्रधानमन्त्री प्रचण्ड सहमत भएको बताइएको छ ।
केसी नेतृत्वको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएको छ । पछिल्लो समय बागलुङको गलकोट क्षेत्रमा गरगहना लुटपाट र हत्याको घटनाबारे जनमोर्चाका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका आइजीपीलाई फोनगरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन गर्नेगरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिनुभएको बताइएको छ ।
टिप्पणीहरू