रवि लामिछानेलाई गृहमन्त्री नबनाएकोमा जनमोर्चा खुशी

रवि लामिछानेलाई गृहमन्त्री नबनाएकोमा जनमोर्चा खुशी

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेको छ । लामिछानेको नाम उल्लेख नगरी उसले अमेरिकाबाट सञ्चालित व्यक्तिलाई पुन: गृहमन्त्रालयको जिम्मेवारी नदिन प्रधानमन्त्रीले लिएको अडान प्रशंसायोग्य रहेको बताएको हो ।   

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरुले आज बालुवाटार पुगी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा मुलुकमा इसाईकरण बढ्दै गएकोप्रति चिन्तासमेत जनाइएको छ । ‘अमेरिकी साम्राज्यवाद तथा सीआईद्वारा सञ्चालित व्यक्तिलाई पुनः गृहमन्त्रालयको जिम्मेवारी दिन तपाईको सरकारमाथि दवाव परिरहेको छ, पत्रमा भनिएको छ, ‘त्यसका बाबजुद त्यसप्रकार अवाञ्छित व्यक्तिलाई गृहमन्त्रीको जस्तो संवेदनशील जिम्मेवारी नदिन तपाईले देखाएको अडानको पनि हाम्रो दलले प्रशंसा गर्दछ र त्यसका लागि तपाईँ र तपाईँको सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।'  

 राज्यमाथि धर्मको प्रभाव रोक्न र स्वयम् राज्य धर्मको विषयमा तटस्थ रहन नै धर्म निरपेक्षताको सिद्धान्तको विकास भएको तर नेपालमा धर्म निरपेक्षताको आडमा इसाईकरण तीव्ररूपमा बढिरहेको जनमोर्चाको दावी छ । त्यस्तै इसाईकरणका विरुद्ध हिन्दु अतिवादका गतिविधिप्रति पनि जनमोर्चाले चिन्ता जनाएको छ । 

‘तीव्र रूपमा बढिरहेको इसाईकरण र बढ्दो इसाईकरणका विरुद्ध हिन्दु अतिवादीका गतिविधि तथा दुईटै धर्मलाई आआफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियारका रूपमा प्रतिक्रियावादी तथा साम्राज्यवादीले प्रयोग गरेको हुनाले धर्म निरपेक्षता खतरामा परेको छ,’ जनमोर्चाले ज्ञापन पत्रमा भनेको छ, ‘धर्म निरपेक्षताको रक्षाका लागि हिन्दु अतिवादीद्वारा हिन्दु राज्य कायम गर्न तथा तीव्र ढङ्गबाट धर्म परिवर्तनका लागि भइरहेको इसाईकरणका विरुद्ध आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्दछौँ ।’

टिप्पणीहरू