पुल निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न माग

पुल निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशले पुल निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठनको माग राखेको छ । 

रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड्न लालबकैया नदीको टिकुलिया घाटमा पक्की पुल निर्माण गर्न १० वर्षअघि सम्झौता भएपनि हालसम्म निर्माण सम्पन्न नभएको भन्दै सो पार्टीले छानबिन समिति गठन गर्न माग गरेको हो । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले विज्ञप्ति जारी गर्दै पुल निर्माणको कार्य तत्काल अगाडि बढाउन तथा ठेकेदार र सरकारी निकायद्धारा पुल निर्माणको क्रममा भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । 

उनले पुल निर्माण नहुँदा आवतजावतमा असहजताका साथै बेलाबखत दुर्घटना भई स्थानीयले ज्यानसमेत गुमाउनुपरेको बिडम्बनापूर्ण परिस्थिति कायमै रहेको बताएका छन् । त्यस्तै, समाजका लागि आफ्नो ज्यानको प्रवाह नगरी पुल निर्माणका लागि आमरण अनसनमा बसेका युवा पत्रकार संजय सहनीको स्वास्थ्य अवस्थासमेत बिग्रिदैँ गएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘पुल निर्माणका लागि स्थानीयको सामूहिक नेतृत्व गर्दै अनसनमा रहेका पत्रकार सहनीको माग पूरा गर्दै सो पुल निर्माणको कार्य तत्काल अगाडि बढाउन तथा ठेकेदार र सरकारी निकायद्धारा पुल निर्माणको क्रममा भएका अनियमितताको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न सरकार तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र सम्पूर्ण माग सम्बोधन गर्न जोडदार माग गर्दछौँ ।’
 

टिप्पणीहरू