टुँडिखेलमा सेनाको लस्कर, आकाशमा हेलिकोप्टरको फन्को

टुँडिखेलमा सेनाको लस्कर, आकाशमा हेलिकोप्टरको फन्को

नेपाली सेनाले आफ्नो २६०औँ स्थापना दिवस मनाउन थालेको छ । सो अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सैनिक मञ्चमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको छ ।

सेनाको परमाधिपति राष्ट्रपतिले त्यहाँ रहेको सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको छ । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ । 

सेनाले परेड तथा तोप बढाइँ, कवाज, विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायती सेनाको टोलीले व्याण्ड प्रस्तुति गर्ने बताइएको छ ।

समारोहस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि उपस्थित हुनुहुन्छ ।     

त्यसैगरी मन्त्रीहरु, सबै सुरक्षा निकायका प्रमुख र विशिष्ट सरकारी अधिकारीहरु पनि कार्यक्रममा सहभागी हुनुभएको छ । सैनिक मञ्चको कार्यक्रममा भारतीय सेनाका चार जना पूर्व अध्यक्षहरुको उपस्थिति छ । त्यसैगरी माल्दिभ्सको सेनाका एक जना जर्नेल पनि आजको कार्यक्रममा निम्त्याइएका छन् ।

आजको कार्यक्रममा सेनाको एउटा हेलिकोप्टरबाट पुष्पवृष्टि र अर्को दुई वटालाई ब्यानर प्रदर्शन र पुष्पवृष्टिमा राखिएको छ । स्काई ट्रकबाट पाराजम्प गराइने बुझिएको छ ।

आजै सेनाका विभिन्न पृतना, बाहिनी, गण, गुल्मलगायत इकाइमासमेत सेना दिवस मनाइएको छ ।

टिप्पणीहरू