पोथी खोज्दै हिँडेको हात्तीको ताण्डवमा महिलाको मृत्यु, दर्जनौं गाउँका स्थानीय आतंकित
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही दिनदेखि देखा परेको एम गज नामको हात्तीले मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिकाको राप्ती पारिका गाउँबस्तीमा सास्ती दिएको छ । पछिल्लो १५ घण्टा यता मनहरी गाउँपालिका वडा नम्बर ३, ४ र ५ का बस्तीमा एम गजको उदण्डताले सीमा नाघ्दा एक महिलाको ज्यान गएको छ । उसको सनकले दर्जनौँ घरसँगै अन्नबालीमा क्षति पुगेको छ ।
एम गजको आक्रमणले मानवीय क्षति हुने र निकुञ्जको तर्फबाट उसलाई नियन्त्रण गर्न यथोचित पहल नहुनुलगायत कारण देखाउँदै आक्रोशित भिडले पर्सा राष्ट्रिय निकुन्जको लामिटारस्थित सेक्टर कार्यालयको गोलघरमा आज सोमबार दिउँसो आगजनी गरेको छ । नेपाली सेनाले गस्तीका लागि प्रयोग गर्ने सवारी साधन र मोटरसाइकलहरुमा पनि क्षति पुर्याइएको छ ।
निकुञ्जमा आएको झण्डै १५ वर्षको जवान एम गज हात्तीले हिजो साँझदेखि बस्तीहरुमा पसेर ताण्डव देखाएको हो । केही दिनदेखि निरन्तर गाउँबस्तीमा पुगिरहेको उक्त हात्तीले आज बिहान मनहरी गाउँपालिकाको वडा नम्बर ४ तल्लो मसिनेका राधा अधिकारीलाई करेसाबारीमै आक्रमण गरेको थियो । आक्रमणपछि गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको ४ नम्बरका वडाध्यक्ष प्रकाश थापाले जानकारी दिए ।
अधिकारीलाई आक्रमण गरेपछि पर्सा राष्ट्रिय निकुन्जको लामिटारस्थित सेक्टर कार्यालयतर्फ लागेको हात्तीलाई धपाउन सुरक्षार्थ बसेको नेपाली सेनाले हवाई फायरिङ गरेपछि स्थानीय आन्दोलित र आक्रोशित भएका हुन् । ‘हिजो साँझदेखि निरन्तर जनताको घरमा हात्ती पुगेपछि आर्मीले बन्दुक नपड्काउने तर आफ्नो ज्यान बचाउन हवाई फायरिङ गर्ने ?’, एक आक्रोशित स्थानीय वासिन्दाले भने–‘सरकारका मान्छेलाई आफ्नो ज्यान बचाउन पाए हुने रहेछ ।’ जनताको घरमा पुगेको हात्ती धपाउन नेपाली सेना र कर्मचारीहरुले हवाई फायरिङसहित थप बल प्रयोग नगरेको उनीहरुको आरोप छ ।
स्थानीय वासिन्दाले हात्ती लखेट्ने सेक्टर कार्यालयले हवाई फायरिङ गरेको झोंकमा कार्यालय, गोलघर र सवारी साधनमा आक्रमण गरी क्षति पुर्याइदिएका हुन् । उक्त घटनापछि मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसहितको उपस्थितिमा निकुञ्ज प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, स्थानीयसँगको छलफलमा घटनालाई न्यूनीकरण गर्ने, गम्भीर घाइते अधिकारीको उपचारको निम्ति आवश्यक जुनसुकै अस्पतालमा लगिने, तत्कालका लागि उपचार खर्च दुई लाख रुपैयाँ निकुञ्ज कार्यालयले निकासा गर्नेलगायत सहमति भएपछि स्थानीय मत्थर भएका थिए ।
तर, हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचाररत अधिकारीलाई थप उपचार गर्न भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएकामा डाक्टरले मृत घोषणा गरिदिएका हुन् । ४ नम्बर वडाध्यक्ष थापाका अनुसार चिकित्सकहरुले उनको मेरुदण्ड र तिघ्राको हड्डी समेत भाँचिएको जानकारी दिएका थिए । मानवीय क्षति गराएर सेक्टर कार्यालय पुगेपछि हवाई फायरिङ गराएर भगाइएको उक्त उन्मत्त हात्ती अझै नियन्त्रणमा आएको छैन । यतिखेर हात्ती मनहरी गाउँपालिका ५ डिल्लीपुरतर्फ मोडिएको स्थानीयले बताएका छन् ।
किन भयो हात्ती उद्दण्ड ?
वयस्क बन्दै गएको एम गज पोथी हात्तीको खोजीमा छ । घर पालुवा पोथी हात्तीको खोजी गर्ने क्रममा एम यतिखेर मनहरी गाउँपालिकाका राप्ती पारि र वारितर्फका दुबै गाउँबस्तीमा पुगिरहेको छ । निकुञ्जले मुख्य कार्यालय रहेको आधाभार, निर्मलबस्तीलगायत क्षेत्रमा रहेका आफू मातहतका १० वटा घरपालुवा हात्तीलाई अहिले प्रतापपपुर पोष्टमा ल्याएको छ ।
ती हात्तीलाई पछ्याउँदै एमगज हात्ती आएको हुनसक्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पदमबहादुर तितुङ बताउँछन् । ‘घरपालुवा पोथी हात्तीलाई पछ्याउँदै एमगज अहिले प्रतापपुर पोष्ट छेउछाउ आइपुगेको जानकारीमा आएको छ’, तितुङले भने, ‘यौन सम्पर्कका लागि एमगजले निकुञ्जका घरपालुवा हात्तीलाई पछ्याइरहेको बुझिन्छ ।’
टिप्पणीहरू