नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता मार्चमा हुने

नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता मार्चमा हुने

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता आगामी मार्चमा हुने भएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले आज आठौं संस्करणको प्रतियोगिताको ट्रफी अनावरण गरी यसबारे जानकारी दिएको हो । 

समारोहमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, राष्ट्रिय क्रिकेट टोली र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो । 

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने गरिएको छ । जसमा नेपालका विभिन्न क्लब र एकेडेमीका क्रिकेट टीमहरुले सहभागिता जनाउँदै आएका छन् । 

 पूर्व कप्तान खड्काले युवा नेपाली क्रिकेटरलाई क्षमता अभिवृद्धि गर्न पाकिस्तानी दूतावासले गरेको पहलको प्रशंसा गरेका छन् । त्यस्तै, चार्ज डी अफेयर (एवान) उमैर अलीले नेपाली युवाहरुमा यस कार्यक्रमको बढ्दो लोकप्रियताप्रति आफूहरु सन्तुष्ट रहेको बताए । 

‘स्वास्थ्य समाजका लागि खेलकुदको एकदमै महत्व छ । प्रतियोगिताले नेपालका युवा क्रिकेटरहरुलाई आफ्नो सीप निखार्दै नेपालमा क्रिकेटको प्रवर्द्धन गर्न अवसर प्रदान गर्नेछ’, उनले भने । 

प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्ध बनाउने उल्लेख गर्दै उनले भाइचारा सम्बन्धलाई अझ प्रगाढ बनाउन जोडबल गर्ने प्रतिबद्धता जनाए ।

आँउदो १० मार्चदेखि शुरु हुने प्रतियोगिताका लागि १२ टोली छनोट भएका छन् ।
 

टिप्पणीहरू