जोमसोममा भएको विमान दुर्घटनामा पनि पाइलट नै ‘दोषी’
गत जेठ १५ गते जोमसोममा भएको तारा एयरको विमान दुर्घटनामा पाइलटको त्रुटी भेटिएको छ । दुर्घटनापछि सरकारले गठन गरेको जाँच आयोगले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटीले उक्त दुर्घटना निम्तिएको औंल्याइएको छ ।
अमेरिकाको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्डको सहयोगमा विस्तृत जाँचबुझ गरी तयार पारिएको मस्यौदाको प्रतिवेदन मन्त्रालयले आईकाओ एनेक्स–१३ को प्रावधानबमोजिम ६० दिनको समय दिएर सम्बन्धित निकायलाई आवश्यक अध्ययनको निम्ति पठाउने र त्यसपछि अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर ९एन–एइटी÷डीएचसी ६–३०० जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।
प्रतिवेदनले उडानमा चालक दलले नजिकैको भूअवस्थितिको बारेमा ध्यान नदिएको र विमानले सजग गराएको चेतावनीप्रति ध्यान नपुगेको निश्कर्ष निकालेको छ । विभिन्न आठ वटा बुँदा उल्लेख गर्दै उक्त रुटको मौसममा आएको परिवर्तनलगायत पक्षले विमान दुर्घटनामा सहयोग पुगेको प्रतिवेदनमा भनिएको छ ।
टिप्पणीहरू