‘घाँडो’ बोक्नुभन्दा ‘घनश्याम’ बनाउनु जाति

‘घाँडो’ बोक्नुभन्दा ‘घनश्याम’ बनाउनु जाति

एमालेको ‘सौराहा काण्ड’ सम्झाउँदै ‘मिनी एमाले’ भनिने अखिलको महाधिवेशन सम्पन्न भएको छ । जसरी सौराहामा सम्पन्न एमालेको दशौं महाधिवेशनमा केपी ओलीबाहेक अन्य नेताका नाम लिनेहरू कोही पनि छानिएनन्, यसचोटि अखिलमा त्यस्तै भयो । जिल्लाका पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना एकाध विद्यार्थी नेता जिताउन चाहे पनि तिनका मुखमा ‘केपी ओली’ कण्ठ नहुनेहरू छानिछानी हराइए । भोलि पर्दा ओलीका लागि जुलुस लगाउनुपर्ने, शक्ति देखाउनुपर्ने भएकाले युवासंघमा झैँ अखिलमा पनि ओलीले आफ्नो शक्तिलाई आर्जन गर्न चाहेपछि त्यसलाई फत्ते पार्न खटिए पूर्वअध्यक्षद्वय भानुभक्त ढकाल र माधव ढुंगेल ।

उनीहरूलाई दुई कामको जिम्मा थियो । एउटा हो, ईश्वर पोखरेलनिकटका आरसी लामिछानेलाई ‘भीम रावल र घनश्याम’ बनाउने । अर्को हो, पार्टी कर्ण थापाका ज्वाइँ नरेश रोकायालाई ‘जसरी पनि’ महासचिव बनाउने । आरसीलाई महाधिवेशनस्थलमा ‘घाँडो’ का रूपमा प्रचार गरिएको थियो । नेताहरू भन्दै थिए, ‘घाँडोलाई बनाउने नै घनश्याम हो नि !’ पार्टी महासचिव शंकर पोखरेलले भाष्कर खनाललाई महासचिव बनाउन भनेका थिए । शुरुमा त्यही नाम वाचन गरियो । तर, कर्ण थापाले चिर्कटो च्यात्दै बालकोटमा फोन लगाएपछि कुरा फेरियो, नरेश नै महासचिव भए ।

केपी ओली सरकारकालमा स्वास्थ्यमन्त्री भएर कोरोनाकालमा विवादास्पद व्यापारीलाई औषधि दिएको प्रकरणमा जोडिएर छानबिनमा पर्नुपर्ने भानुभक्त ढकालले ओलीलाई किस्ताकिस्तामा यसको भुक्तान गर्नु नै थियो । अर्कातिर दुई–दुईपटक युवा परिषद्मा उपाध्यक्ष बनाइएका अखिल नेता ढुंगेलले पनि ओलीलाई ऐनमौकामा साथ दिनु नै थियो । ०४८ सालकै निर्वाचनमा युवा मन्त्रालय र परिषद्जस्ता निकाय चाहिन्छ भनेर घोषणापत्रमा लेख्ने पुरुषोत्तम पौडेलहरूलाई बेवास्ता गर्दै अनि युवासंघका नेताहरूलाई ओलीको प्रचारमा मात्रै खटाएर मौका आउँदा विद्यार्थी नेतालाई दोहोर्‍याउने ओलीप्रवृत्तिको फाइदा लिएका ढुंगेलले उद्घाटन सत्रमै भने, ‘पार्टीका आधिकारिक उम्मेदवार समिक बडाल हुन्, देशभरबाट आउनेहरूलाई ‘दायाँ–बायाँ’ नगरी पार्टीलाइनमा लागेर ‘सञ्चै’ सँग घर जान अनुरोध गरिन्छ ।’

उद्घाटन सत्रमै ढुंगेलको आशय थियो, ‘वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेलगायत अन्य कुनै पनि अध्यक्षका उम्मेदवारहरू एमालेकै होइनन्, अरु पार्टीबाट आएर भाग खोज्न लागेका छन्, प्रतिनिधिहरूले हिसाब गरिदिन नबिर्सनुहोला ।’ ढुंगेलले त यसो भने ठीकै थियो । उनलाई अहिले पनि अनेरास्ववियुकै नेताजस्तो लाग्यो होला । गृहजिल्ला रामेछापमा आफ्नै ढुंगेलथरीका नेताहरूलाई समेत लखेट्ने माधवको बानी गोरखाका आरसी लामिछानेलाई पाखा लगाउन उर्दी दिए, त्यसमा केही भएन । तर, पार्टीका पोलिटब्युरो सदस्य भएका मान्छे भानुभक्त ढकालले समेत उद्घाटन सत्रमा ढुंगेलकै बोली बोलेपछि आधा प्रतिनिधिहरूलाई लाग्यो, ‘अध्यक्षमा समिक बडालबाहेक अरुले उम्मेदवार भएर फेरि भीम ‘रावल’ होलान् र ? माहौल कस्तो थियो भने प्रतिनिधि बसेका होटलहोटलमा पुगेर समिक बडाललाई बाहेक अरुलाई भोट नहाल्न भन्ने काममा यी दुई नेताले प्रतिनिधि खटाएका थिए । आरसी लामिछाने र अरु अध्यक्षका उम्मेदवारलाई सहयोग गर्नेहरूको हुलिया संकलन गर्न टोली नै परिचालन भएको थियो ।

महाधिवेशनमा चुनाव हुने नै भएपछि उम्मेदवार मैदानमा खटिने नै भए । अध्यक्षका उम्मेदवार आरसी लामिछाने भएकातिर विद्यार्थी आउन पनि डराउँथे । एकाध विद्यार्थी नेता आएर कानमा खुसुक्क भन्थे, ‘दाइ तपाईंसँग फोटा खिच्न त मन थियो उताबाट ‘वाच’ भइरहेको छ ।’ लामिछानेलाई ठ्याक्कै सौराहा महाधिवेशनमा ‘भीम रावल’ जस्तै बनाइयो । चुनाव सकियो । नयाँ नेतृत्व आयो । लामिछानेले केही बोलेनन् । उनी साथीहरूलाई सुनाउँछन्, ‘उम्मेदवार भएँ, यही ठूलो कुरा थियो, चुनाव सकिएर भोट नगन्दै ‘समिकजी’ लाई ‘बधाई दिइसकेको थिएँ ।’ 
 

टिप्पणीहरू