दश सहकारीको दर्ता खारेज

दश सहकारीको दर्ता खारेज

ललितपुर महानगरपालिकाले पाँच वर्षभन्दा बढी समयादेखि लेखा परीक्षण नगराएका, साधारणसभा नगरेका र आवश्यक विवरण नबुझाएका दश सहकारी संस्थाको दर्ता खारेज गरिदिएको छ । 

गत असार १५ गते राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशित गर्दै ती सहकारीलाई साधारणसभा गर्न भनेपनि संस्थासँग सम्बन्धित कोही पनि व्यक्ति सम्पर्कमा नआएको भन्दै महानगरले दर्ता खारेजको निर्णय गरेको हो । सहकारी ऐन, २०७५ को दफा २९ उपदफा (२) बमोजिम संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था रहेपनि ती सहकारीले पाँच वर्षभन्दा बढी अवधिदेखि साधारणसभा नगरेको महानगरले बताएको छ । 

त्यसैले, सोही ऐनको दफा ६६ को उपदफा (३) बमोजिम महानगरले महिला सिप विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बडीखेल पर्यटन सहकारी संस्था लिमिटेड, प्रयास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, एभरग्रीन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरेको हो ।
 
त्यस्तै, पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राजवृक्ष जडिबुटी सहकारी संस्था लिमिटेड, एभरेष्ट कृषि सहकारी संस्था लिमिटेड, रातो सूर्य सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड र भृगेश्वर उपभोक्ता सहकारी संस्था लिमिटेडको पनि दर्ता खारेज भएको छ । 

महानगरले यी सहकारीले बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित सञ्चालन समितिका पदाधिकारीसँग सम्पर्क गर्न र उक्त सहकारीको कुनै पनि कारोबार नगर्न जानकारी गराएको छ ।

टिप्पणीहरू