उपप्रधानमन्त्री श्रेष्ठ दोहा उड्नुअघि घुईंचो रेष्टुरेन्ट पुग्ने
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदै हुनुहुन्छ । उपप्रधानमन्त्री श्रेष्ठ त्यहाँ हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो ।
उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन समूहको वर्तमान अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा भोलिदेखि शुरु हुँदैछ । अब समूहको अध्यक्षता ग्रहण गर्ने पालो नेपालको हो ।
उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, परराष्ट्र सचिव र कतारका लागि नेपाली राजदूतलगायतको सहभागिता रहने जनाइएको छ ।
यसअघि उपप्रधानमन्त्री श्रेष्ठले आज बिहान सुन्धारास्थित एउटा रेष्टुरेन्टमा आयोजना गरिएको व्यापारीहरुको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । न्युरोडका व्यापारीहरुको संस्था खिचापोखरी–न्यूरोड व्यापार संघको निर्वाचन कार्यक्रम उद्घाटन गर्न उहाँ घुईंचो रेष्टुरेन्ट जान लाग्नुभएको हो ।
टिप्पणीहरू