लागुऔषधमा लागेकाहरु चितवनमा लगलग, लगालग

लागुऔषधमा लागेकाहरु चितवनमा लगलग, लगालग

गत सोमबार ब्राउनसुगरसहित खैरहनीबाट दुईजना समातिएको २४ घन्टा नबित्दै फेरि लागुऔषध कोरेक्ससहित चितवनमा थप तीनजना पक्राउ परेका छन् । मंगलबार दिउँसो ४ बजेतिर ३३ बोतल कोरेक्ससहित भरतपुर–१२ का ४० वर्षीय सुरजकुमार शाही, अर्का ३६ वर्षीय प्रकाश गौतम र भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठलाई पनि खैरहनीबाटै पक्राउ गरिएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० नम्बरको कारलाई जमौलीस्थित सडकमा रोकेर चेकजाँच गरियो । शंकास्पद कारको पछाडिपट्टिको सिटमा कार्टुनभित्र लुकाएर ल्याएको लागुऔषध कोडिवेल कफ सिरप १०० एमएलका ३३ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सोमबार राति पौने १० बजेतिर १५ ग्राम खैरो हिरोइनसहित खैरहनी नगरपालिका–३ का ३० वर्षीय विक्रम गुरुङ र राप्ती–८ बस्ने २४ वर्षीय गगन सिंजाली मगरलाई नियन्त्रणमा लिनुभन्दा दुई दिनअघि पनि चितवनको प्रहरी टोलीले ५८५ एम्पुल लागुऔषधसहित भरतपुरबाट एकैदिन चार जनालाई गिरफ्तार गरेको थियो । 

विशेष सूचनाको आधारमा भरतपुर–१ स्थित सडकमा पुलचोकतिरबाट आँपटारीतर्फ गुडिरहेको ना.२८ प २७०८ नम्बरको मोटरसाईकललाई रोकेर लुकाइछिपाइ ल्याएको लागुऔषध डायजेपाम ९५ एम्पुल, ब्युप्रोनोर्फिन ९५ एम्पुल र फेनार्गन ९५ एम्पुलसहित पर्सा जिल्ला निर्मलबस्ती घर भई चितवनको कालिका–१ मा डेरा गरी बस्ने २९ वर्षीय विकास स्याङतान र कालिका–१ मै बस्ने २७ वर्षीय विकास गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको फागुन १३ गतेकै दिन थप ३०० एम्पुल लागुऔषधसहित अरु दुईजना समातिएका थिए । भरतपुर–२६ का २८ वर्षीय ओमबहादुर बस्यौला र २७ वर्षीय अजय विकलाई भरतपुर–१ पोखरा बसपार्क टोलस्थित एउटा कोठामा लुकाइराखेको १०० एम्पुल डायजेपाम, १०० एम्पुल नुफिन र १०० एम्पुल फेनार्गनसहित पक्राउ गरिएको प्रहरीले यसअघि नै जानकारी गराएको थियो । 

यसअघि फागुन ८ गते लोथरस्थित सडकबाट मध्यरातमा टाटा डिआई गाडीमा ओसारपसार हुँदै गरेको अवस्थामा ५० किलोभन्दा बढी गाँजासहित चितवन प्रहरीले दुईजनालाई पक्राउ गरेको गर्यो । फागुन ३ गते पनि ५४ एम्पुल लागुऔषधसहित मोटरसाईकलमा सवार रत्ननगर–१५ का ३२ वर्षीय इन्द्रबहादुर थिङ चितवन प्रहरीको पञ्जामा परेका थिए । फागुन २ गते लागुऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाईसमेत प्रहरीले फेला पारेको जनाइएको छ ।

पछिल्लो समय चितवनमा यसरी दिनहुँजसो लगालग लागुऔषधका कारोबारीहरु प्रहरीको फन्दामा परेको देखिन्छ । यसबाट अवैध लागुऔषधको ओसारपसार, कारोबार र दुरुपयोग नियन्त्रणतर्फ चितवन प्रहरीको निगरानी र सक्रियताले लागुऔषधको कारोबार र प्रयोगबाट धानिएकाहरु अब गर्मीमा पनि लगलगाउँदैछन्, उनीहरुको ओठतालु सुक्न थालेको अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू