सांसदहरुलाई रामचन्द्रको पत्र, श्रीमतीलाई उपप्रधानमन्त्री बनाउनुपर्ने रेशम चौधरीको माग

सांसदहरुलाई रामचन्द्रको पत्र,  श्रीमतीलाई उपप्रधानमन्त्री बनाउनुपर्ने रेशम चौधरीको माग

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेका रामचन्द्र पौडेलले सांसदहरुलाई व्यक्तिग सम्बोधनमा पत्र लेखेका छन् । फागुन २५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्दै उनले सबै सांसदलाई पत्र पठाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ । यसअघि उनले आफूलाई भोट दिन र दिलाउन सबैजसो राजनीतिक दलका नेतासँग भेटेर आग्रह गरिसकेका छन् । यसैबीच पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेट गरेको बताइएको छ । हिजो चौधरीसँग भेट गर्न नेता पौडेल काठमाडौंको डिल्लीबजारस्थित सदर खोर पुगेका हुन् ।

भेटमा उनले उन्मुक्ति पार्टीका सबै सांसदलाई राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गराउने व्यवस्था मिलाइदिन आग्रह गरेको चौधरी निकट नेताहरुले बताए । तर जवाफमा चौधरीले आठदलीय गठबन्धनसँग उन्मुक्ति पार्टी अध्यक्ष तथा आफ्नी पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवम् सहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुपर्ने भन्दै पहिलो माग तेर्साएका छन् । 

चौधरीले पौडेललाई मत दिनुअघि काँग्रेसले संघीय सरकारमा अर्का एक जना सांसदलाई राज्यमन्त्री दिनुपर्ने, टीकापुरलाई कैलालीबाट छुट्टाएर अर्कै जिल्ला बनाउनुपर्ने, सुदूरपश्चिम प्रदेशको नामाकरण परिवर्तन गरेर खप्तड–थरुहट बनाउनुपर्ने र राजधानी धनगढी कायम गरिनुपर्ने मागलाई सम्बोधन गर्नुपर्ने माग पनि राखेका छन् ।

टिप्पणीहरू