पत्रकारले महिला माननीयको समाचार नलेखेकोमा सभामुखको चित्त दुखाई
सभामुख देवराज घिमिरेले संसदमा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता नदिएको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले सञ्चार माध्यमले विषयभन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर प्राथमिकतामा राख्ने गरेको टिप्पणी गर्नुभयो ।
‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसदमा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ सभामुखले भन्नुभयो, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा चाहिँ प्राथमिकताका साथ आउँछन् ।’
सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिनसके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने पनि उल्लेख गर्नुभयो । संघीय संसदले विगतमा महिला सांसदहरुका लागि सञ्चार सम्बन्ध विस्तारका लागि कार्यक्रम गर्ने गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता छ ।
संसदीय रिर्पोटिङमा पत्रकार महिलाहरुको उपस्थिति कम रहेको बताउँदै सभामुख घिमिरेले सञ्चारसँग सम्बन्धित संस्थाहरुले सकारात्मक पहल गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको उहाँको भनाइ छ ।
‘सञ्चारसँग सम्बन्धित रोकिएका विधेयक अगाडि बढाउन र समयानूकूल बनाउनेतर्फ पनि तपाईंहरुले गृहकार्य र छलफल गर्न सक्नुहुन्छ,’ सभामुखले भन्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल ऐनका कतिपय दफामा संशोधन आवश्यक रहेको भनि सभामुखको ध्यानाकर्षण गराएका छन् । उनले डिजिटल सञ्चार माध्यमलाई समेत समेट्ने गरी कानून संशोधनमा जोड दिएका हुन् ।
टिप्पणीहरू