विदेश उड्नुअघि उपप्रधानमन्त्री श्रेष्ठ निकै व्यस्त

विदेश उड्नुअघि उपप्रधानमन्त्री श्रेष्ठ निकै व्यस्त

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ साढे ६ बजे त्यसतर्फ गर्नुभएको हो ।

उपप्रधानमन्त्री अतिकम विकसित मुलुकहरु (एलडीसी) को सम्मेलनमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा जानुभएको हो । सम्मेलन आइतबारदेखि बुधबारसम्म हुँदैछ । आज दोहा गएको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्रीबाहेक योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल सामेल हुनुहुन्छ । 

त्यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय, उद्योग मन्त्रालय सचिव मधुकुमार मरासिनी, योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि आजै दोहा उड्ने टोलीमा रहेको बताइएको छ । अन्य सदस्यमा सहसचिवद्वय प्रकाश दाहाल र श्रीकृष्ण नेपाल, शाखा अधिकृत भरत खनाल, उपप्रधानमन्त्रीका निजी सचिव सुरेशकाजी श्रेष्ठ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र नेपाल टेलिभिजनका भिडियोग्राफर प्रद्युम्न ढुंगेल छन् ।

यी बाहेक दोहास्थित नेपाली राजदूत र जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा सहभागी भएर फर्किएका परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि प्रतिनिधिमण्डलमा समावेश हुने जनाइएको छ ।

आजै उपप्रधानमन्त्री श्रेष्ठ बिहान सुन्धारास्थित एउटा रेष्टुरेन्टमा भएको कार्यक्रममा प्रमुख अतिथि हुनुभएको थियो । त्यसपछि दिउँसो सिम्रिक एअरको हेलिकोप्टरमा दोलखाको चरिकोट पुगेर साढे ३ बजे राजधानी फर्कनुुभएको हो ।

टिप्पणीहरू