एमालेलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले काँग्रेसलाई दिने
रेशम चौधरी संरक्षक र उनकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । हिजोसम्म विश्वासको मतबारे अन्योलमा रहेको सो पार्टीले आज विश्वासको मत दिने निर्णय गरेको छ ।
आजै मुख्यमन्त्री शाहले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । काँग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई विश्वासको मत दिन अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टी राजी भएको हो ।
यता, माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि माओवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने भन्दै केन्द्रीय कार्यालयलाई खबर गरेको थियो । उन्मुक्तिले दलीय सहमतिमा लिखित हस्ताक्षर चाहिने शर्त राख्दै आएको थियो ।
मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेर काँग्रेसको नेतृत्वमा सरकार गठन भएको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा काँग्रेस प्रदेश संसदीय दलका नेता शाह मुख्यमन्त्री बनेका थिए ।
यसरी गठित सरकारका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । केन्द्रमा माओवादीसहित आठदलीय गठबन्धन बनेपछि सुदुरपश्चिममा पनि राजनीतिक समीकरण फेरिएकाले मुख्यमन्त्री शाहले अन्ततः विश्वासको मत पाउने अवस्था बनेको हो ।
टिप्पणीहरू