वनमा डढेलो लगाउनेहरु झ्यापझुप समातिए

वनमा डढेलो लगाउनेहरु झ्यापझुप समातिए

चैत–बैशाखको समय अधिकाँश वन क्षेत्रमा डढेलो शुरु हुन्छ । हरेक बर्ष वन संरक्षणमा लागेका अभियन्ता होस् वा वन कर्मचारीहरु नै किन नहोस्  डढेलो लगाउनेको खोजी गर्छन् तर फेला पार्दैनन् ।

कतिपय आगलागीका घटना प्राकृतिक रुपमा आगोको उत्पत्ति भएर हुने गरेका छन् भने कतिपयचाहिँ रमाइलोको लागि डढेलो लगाउने घटनाहरु पाइन्छन् । त्यसो त यो सिजनमा राम्रो पालुवा पलाउँछ भन्ने विश्वासमा पनि डढेलो लगाउने गरेका घटनाहरु सुनिन्छन् । तर, डढेलो लगाउँदा वन,वन पैदावार,वन्यजन्तुको सर्बनाश हुने गर्दछ । 

मकवानपुरको एउटा सामुदायिक वन क्षेत्रमा हिजो त्यस्तै घटना भयो । हेटौँडा १९ नेवारपानीको सुख्खा क्षेत्रमा बृक्षरोपण गरी वन  निर्माण गर्ने सपनालाई तुहाउने गरी तीन जना युवाले आगजनी गरिदिए । कालिका हरियाली सामुदायिक वन उपभोक्ता समूहले बृक्षरोपण गरी वन निर्माण गर्दै गरेको उक्त क्षेत्रमा डढेलो लगाएर भाग्ने तीन जनालाई नियन्त्रणमामा लिई ९० हजार रुपियाँ जरिबाना गराइएको छ । 

वन समूहका अध्यक्ष गान्धी लामाले तीनैजना युवालाई वन क्षेत्रको क्षतिको आँकलन गरी ९० हजार जरिबाना गरी सम्बन्धित वडाध्यक्षको जमानीमा छाडिएको बताउनुभयो । त्यसरी डढेलो लगाउनेहरुमा मनहरी गाउँपालिका वडा नं ४ का गौरव गौतम, हस्तबहादुर अर्याल र रोनिश कार्की रहेका छन् । उनीहरुले गरेको आगजनीबाट वन क्षेत्रमा क्षति पुगी मान्छेले निभाउन नसकेर हेटौँडा उपमहानगरपालिकाको दमकल समेत बोलाउनुपरेको थियो ।

स्थानीय प्रहरी, डिभिजन वन कार्यालय राप्ती मनहरीका कर्मचारी, उपभोक्ता, वन समूहका पदाधिकारीहरुको समन्वयमा आगो लगाउने ती युवाहरुलाई घरैबाट नियन्त्रणमा लिएर जरिबाना गरी छाडिएको हो ।
 

टिप्पणीहरू