राष्ट्रपतिको भोटिङ सकियो,चार बजेदेखि गणना
राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । बिहान १० बजेबाट शुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि तोकिएको थियो ।
कूल ८८२ मतदातामध्ये ८३१ भोट खसेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फ ३३२ मतदाता रहेकोमा ३१३ भोट मात्र खसेको हो ।
राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसदसहित संघीय संसद्का ३३४ सदस्य मतदाता छन् । प्रतिनिधिसभाका दुई सांसद कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् भने रास्वपाका रवि लामिछाने पदबाट मुक्त भएकाले मतदाता संख्या ३३२ छ ।
त्यस्तै, स्वास्थ्य उपचारमा रहेका कांग्रेस सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान पुन पनि मतदानमा सहभागी भएका छैनन् । फौजदारी अभियोग लागेर फरार भएका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि भोट हाल्न गएनन् । निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान गरेनन् ।
मतगणना अपराह्न ४ बजेदेखि शुरु गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग मतगणनासम्बन्धी बैठकमा ४ बजेदेखि मतगणना थाल्ने सहमति भएको हो ।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
टिप्पणीहरू