जेलै नपठाई धरौटी तिरेर बहुपत्नी राख्न दिने हो श्रीमान ?

जेलै नपठाई धरौटी तिरेर बहुपत्नी राख्न दिने हो श्रीमान ?

पति पत्नी भनेका एक रथका दुई पाङग्रा हुन् । उनीहरुको सम्बन्ध भरोसा र विश्वासमा टिकेको हुन्छ । पति पत्नीको सम्बन्धमा जब तेस्रो व्यक्तिको प्रवेश हुन्छ तब खटपट शुरु हुने गरेको छ ।

एउटी महिला आफ्नो जन्मघर छोडी अर्कैसंग समर्पित भएर जान्छिन् । चिन्नु न जान्नुको व्यक्तिसंग गएर घरपरिवार बसाल्छिन् । बदलामा उनले अलिकति माया,सम्मान र राम्रो व्यवहारको मात्र अपेक्षा गरेकी हुन्छिन् । तर,श्रीमानले चारैतिर केटी डुलाउँदै हिँड्ने भएपछि श्रीमती कहाँ जाने ?

घरपरिवारले अन्माएर पठाइसकेका छोरीचेली फेरि माइती गएर बस्ने कुरा पनि आएन। त्यसकै फाइदा उठाउँदै जान्छन् पुरुषहरु । चितवनकी देवी ज्ञवालीको २०६२ सालमा शंकर ज्ञवालीसङ्ग मागी विवाह भयो । त्यतिबेला उनी पढ्दै थिइन् । माछा मासु,जाँडरक्सी नखाने,जागिर भएको केटो देखेपछि बाबुआमाको मनमा छोरीलाई राम्रोसंग पाल्छ भन्ने भावना जागृत हुन्छ ।

त्यही सोचेर बाबु आमाले शंकरसंग सम्बन्ध गाँसिदिए । पेशाले शिक्षक शंकर त्यतिबेला राजधानीको डिल्लीबजारस्थित कन्या क्याम्पसमा पढाउँथे । गुल्मी घर भएका उनी कालोपुलमा कोठा भाडा लिएर बस्दै आएका थिए । विवाह गर्नुअघि उनले श्रीमतीलाई पढाउँछु,सुखसंग पाल्छु भनेर अनेकन बाचा गरे ।

बियरको बोतलले टाउकोमा हान्दा सात वटा टाँका लगाउनुपरेको थियो । ओठ फुटेर चिराचिरा भयो । औंला भाँचिदिए,आइरनले पोलिदिए ।

तर,विवाह भएकै केही दिनमा उनको असली रुप बाहिर आइहाल्यो ।आफूलाई इच्छा नहुँदाहुँदै पनि जबरजस्ती शारीरिक सम्बन्ध राख्न बाध्य पार्थें । कानुनी भाषामा भन्ने हो भने शंकरले उनलाई वैवाहिक बलात्कार गर्दथे । पढाइ पूरा नभएसम्म बच्चा नपाउने सोच बनाएकी उनले जबरजस्ती आमा बन्नुपर्यो ।

शंकर भन्ने गर्दथे,‘म एउटी बूढीलाई पढाउन र बच्चा स्याहार्न नसक्ने मान्छे हुँ र ! ’ यसो भन्दै गर्दा विवाह गरेको वर्ष दिनमै देवीले छोरा जन्माइन् । बच्चा भएपछि कलँकीस्थित माइती आएकी थिइन् । माइतीबाट फर्किने बेला श्रीमान लिन आएनन् । पटकपटक फोन गर्दा पनि नउठाएपछि उनी गाडी चढेर एक्लै कालोपुलसम्म आइन् ।

कोठामा आफ्नो श्रीमानको चर्तिकला देख्दा छाँगाबाट खसेझैं भएकी थिइन् । श्रीमान अर्कै केटीसंग एउटै ओछ्यानमा लम्पसार थिए । उनी रुनुसम्म रोइन् । त्यसपछि शंकरले अबदेखि यस्तो गल्ती नहुने भन्दै माफी मागे । गल्ती स्वीकारेको हुनाले माफ गरिदिइन् ।

श्रीमानको ‘चपाउने र देखाउने दाँत’ छुट्टाछुट्टै रहेछ भन्ने के थाहा ? सो घटनापछि श्रीमानबारे अलि धेरै नै चासो राख्न थालिन् । घर ढिलो आउँदा पनि सोध्ने गर्दथिन् । घरबाट कलेज पुग्न १५ मीनेट लाग्ने भएपनि शंकर ४ बजे नै निस्किसकेका हुन्थे ।

सानो जागिर गर्दै आएकी देवी त्यसपछि थप पीडित बनिन् । शंकर भने आफू पत्नीपीडित भएको नाटक देखाउँदै हिँडे । देशभरका पत्नीपीडितलाई भेला गराएर संघ खोल्ने कुरासम्म उठ्यो ।

राति जहिल्यै घर ढिलो आउने उनलाई रक्सीको पारखीभन्दा पनि केही फरक पर्दैन । रक्सी,मासु र केटी भएपछि केही नचाहिने उनी श्रीमती देख्नेबित्तिकै चिढिने गर्दथे । भर्खर भर्खर वैवाहिक जीवन शुरु गर्दा उनलाई श्रीमतीले पकाएको जे पनि मीठो लाग्थ्यो । तर,केही समयपछि नै शंकरलाई श्रीमतीले पकाएको नमीठो लाग्न थाल्यो ।  

साथीहरुसंग बसेर चिकेन चिल्लीलगायतका खानेकुरा खाने उनी श्रीमतीले जतिसुकै मीठो पकाएर खान दिएपनि सन्तुष्ट थिएनन् । तरकारीमा अलिकति खुर्सानी हाल्यो भने श्रीमतीमाथि जाइलाग्थे । यो कुरा आफन्तले समेत थाहा पाए । त्यसपछि शंकरले देवीलाई नानाथरी भन्दै चुट्नुसम्म चुटे ।

बियरको बोतलले टाउकोमा हान्दा सात वटा टाँका लगाउनुपरेको थियो । ओठ फुटेर चिराचिरा भयो । औंला भाँचिदिए,आइरनले पोलिदिए । तथानाम गाली गर्ने र जे भेट्यो त्यसले कुट्ने क्रियाकलाप दिनहुँ बढ्दै गएको थियो । उनले आफ्नो कर्तुत लुकाउनका लागि श्रीमतीलाई ‘मेन्टल डिसअर्डर’ को औषधीसमेत खुवाइदिए । खान्न भन्दाभन्दै पनि जबरजस्ती औषधी खुवाइदिने शंकरको योजना उनलाई पागल बनाउनु थियो । तर, उनी जसोतसो जोगिइन् । छोरालाई समेत आमा पागल हो भनेर सिकाउँथे ।

‘चुइँक्क बोल्यो कि पोल्यो’ भनेझैं ओठबाट शब्द खस्नेबित्तिकै रामधुलाई हुने गरी पिटिहाल्थे । आफ्नो श्रीमतीलाई फिटिक्कै मन नपराउने शंकरले सम्बन्धविच्छेद गर्न हर कोशिस गरिरहेका थिए । चार पाँच दिनसम्म घर नआउने उनले श्रीमतीको गहनासमेत उठाएर लगे । आफ्नो सामानसमेत लैजान खोजेका उनलाई घरबेटीले रोके । त्यसपछि उनी त्यहाँबाट चिढिँदै निस्किए ।

एकदिन अचानक फोन गरेर शंकरले भने,‘जग्गा किन्नुपर्यो । तेरो बाउ आमासंग आठ लाख रुपैयाँ मागेर लिएर आइज ।’ देवीले आफैं बाबुआमासंग कुरा गर्न भनेपछि उनले फोन राखे । यता,छोराको स्कूलमा समेत शंकरले आमालाई बच्चा नदिनु, ऊ पागल हो भनेका थिए ।

सानो जागिर गर्दै आएकी देवी त्यसपछि थप पीडित बनिन् । शंकर भने आफू पत्नीपीडित भएको नाटक देखाउँदै हिँडे । देशभरका पत्नीपीडितलाई भेला गराएर संघ खोल्ने कुरासम्म उठ्यो । उनले सम्बन्धविच्छेदका लागि काठमाडौं महानगरपालिकामा निवेदनसमेत दर्ता गरे । तर, महानगरले मागदाबी नपुग्ने भन्दै निवेदन फर्काइदिएपछि काठमाडौं जिल्ला अदालत पुगे ।

शंकरले विभिन्न पत्रपत्रिकामा आफू पत्नीपीडित भएको भन्दै समाचार प्रकाशित गरे । श्रीमतीमाथि लाञ्छना लगाउन उनले अनेकौं बहानाबाजी गरे । आफ्नो जिन्दगी बर्बाद भएको भन्दै धेरै ठाँउमा बोले ।

पतिपीडित भनेको मात्र सुन्दै आएका मिडियाका लागि पनि मसलेदार समाचार बन्यो । तर,पीडितमाथि थप पीडा थपियो । त्यसपछि शुरु भयो कानुनी उपचारको बाटो । पहिले परिवारजनले मिल्ने भनेपछि देवीले सहमति जनाइन् । तर,श्रीमानको बानीव्यवहारमा परिवर्तन नआएपछि उनले कानुनको ढोका ढक्ढकाइन् ।

यत्रो वर्ष बितिसक्दा पनि उनी यो लडाइँ लडिरहेकी छन् । शरीर थाकिसकेको छ तर छोराका लागि भएपनि लड्नुपर्छ भन्ने अठोटका साथ हिँडिरहेकी छन् । देवीले सम्भवतः हरेक निकाय गुहारिन् । सयौं हण्डरठक्कर खाइन् । श्रीमान भने बहुविवाह गरेर पनि ढुक्कसाथ बसेका छन् ।

तर,कानुन लाग्ने भनेकै पहुँच र पावर नभएकालाई हो । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको काउन्सिल सदस्य र अडिटर एशोसिएशन अफ नेपालको केन्द्रीय समितिमा रहेका उनले कानुनसमेत लत्याउँदै आएका छन् ।

आफूमाथि भएको अन्यायका विरुद्ध आवाज उठाउँदै आएकी उनले अदालत परिसरमा समेत कुटाइ खाइन् । श्रीमान मात्र होइन्, सौता रमा पन्थीले समेत हातपात गरिन् ।

११ वर्षसम्म पनि पाउन सकिनन् न्याय

२०६८ सालदेखि न्यायको लागि लडिरहेकी देवी अदालतको चक्कर लगाउँदालगाउँदै शिथिल बनिसकेकी छिन् । कानुनको कठघरामा हुनुपर्ने व्यक्ति खुलेआम हिँडिरहेको देख्दा उनको मुटु भक्कानिएर आउँछ ।

बहुविवाह गरेका शंकरलाई कानुनले सजाय सुनाएपनि जेल नगइकन धरौटी तिरेर खुल्ला हिँडिरहेका छन् । उच्च अदालत पाटनले २०६५ पुस २४ गते घरेलु हिंसा गरेको कसूरमा शंकरलाई घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ को दफा १३ (३) बमोजिम दुई महिना कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यस्तै,बहुविवाहको कसूरमा शंकर र रमालाई एक–एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । कैद सजाय नकाटिकन जरिवाना तिरेर उनीहरु फुकुवा भएका छन् ।

उच्चले माना चामलबापत आमा र छोरालाई मासिक १५–१५ हजार रुपैयाँ दिन आदेश दिएको थियो । तर, शंकरले अहिलेसम्म एक सुको पनि दिएका छैनन् । देवीले छोराको लालनपालनका लागि १५ हजारले नपुग्ने भन्दै सर्वोच्चमा पुनरावेदन गरेकी छन् ।

सर्वोच्चमा शंकर र देवीको सम्बन्धविच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ । यद्यपि,शंकरले आफ्नो सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै आएका छन् । शंकरले लुकाएर रमालाई ललितपुरको भैसेंपाटीमा किनिदिएको अपार्टमेण्टमा छोरासंगै बस्दै आएकी छिन् । लोग्नेले आफूलाई मानाचामल र अंशबापत दिनुपर्ने केही पनि नदिएपछि आफ्नो हक लाग्ने भन्दै देवी उक्त अपार्टमेण्टमा गएर बसेकी थिइन् ।

रमाले गरेकी थिइन् कुमारीको ढोंग

रमाले अहिले पनि आफूलाई कुमारी भएको ठोकुवा गर्दै आएकी छन् । पहिलेको श्रीमानसंग सम्बन्धविच्छेद गरेर शंकरसंग दोस्रो विवाह गरेकी उनीहरुको ६ वर्षको सन्तानसमेत छ । उनले सर्वोच्चमा समेत आफ्नो विवाह नभएको बताएकी थिइन् ।

रमा र शंकर पतिपत्नी हो भनेर पुष्टि गर्ने थुप्रै आधार हुँदाहुँदै पनि अदालतमै झुठ बोल्ने काम भयो । अर्कोको घर बर्बाद पारेर सौता गएकी उनी देवीलाई तथानाम गाली गर्नदेखि लछारपछार गर्नसमेत पछि हटिनन् ।

दुनियाँको सामु मिजासिलो भएको नाटक देखाउने उनले कानुनको आँखामा छारो हालेको कुरा बैंकको फारामबाट प्रष्ट हुन्छ । जनता बैंकको कुमारीपाटी शाखाबाट अपार्टमेण्ट किन्नका लागि कर्जा लिने बेलामा उनीहरुले श्रीमानश्रीमती भनी उल्लेख गरेका छन् । पछि अदालतले बैंकलाई परिपत्र गर्दै सत्यतथ्य कागजात माग गरेपछि यो कुरा छरपष्ट भएको थियो ।

२०७४ वैशाख २४ गते रमाले बैंकका प्रमुखलाई निवेदन लेख्दै त्यो सच्याइदिन आग्रह गरेकी थिइन् । आफूहरुको विवाह नभएको र फाराममा गलत लेखिएको पत्रमा उल्लेख छ । जबकि फाराममा दुवैले हस्ताक्षरसमेत गरेका छन् ।

शंकरको प्रतिष्ठित पदसम्मको यात्रा

घरेलु हिंसा,बहुविवाहजस्ता गम्भीर प्रकृतिको मुद्दा अदालतमा चलिरहँदा पनि शंकरलाई कुनै प्रभाव परेन । पारिवारिक समस्याको कारण देखाउँदै क्याम्पसको सेवाबाट राजीनामा दिएका उनी सिध्दार्थ डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा सदस्य बने ।

उनी ज्ञवाली एण्ड एशोसिएटसको प्रोप्राईटर पनि हुन् । दयानन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत भइसकेका उनी हाल आइक्यान र अडानको प्रतिष्ठित पदमा छन् । ‘कागभन्दा पनि बाठा’ शंकरले देवीलाई अंश दिनुपर्छ भनेर सम्पूर्ण सम्पत्ति लुकाए । आफ्नो आम्दानीको स्रोत नभएको र अंश दिन नसक्ने भन्दै अदालतमा झुठो विवरण पेश गरे । रमाकै खाताबाट बैंकिङ कारोबार गर्दै आएका छन् । यतिमात्र नभएर देवीलाई सम्पत्ति दिनुपर्छ भनी आफ्नो नाममा भएको सेयरसमेत हतारहतार अर्काको नाममा पास गरेको खुलस्त भएको छ ।

उनले प्रभु बैंकमा भएको आफ्नो १२ सय कित्ता सेयर रामलाल महर्जनको नाममा हक हस्तान्तरण गरेको प्रमाणित भइसकेको छ  । त्यस्तै, सिध्दार्थ विकास बैंकमा भएको १९ सय कित्ता सेयर रमेशप्रसाद आचार्य, २१० कित्ता धर्म महर्जन, १७० कित्ता सनराइज होल्डिङ्स प्रालिको नाममा हस्तान्तरण गरेको प्राप्त प्रमाणमा उल्लेख छ ।

पाइलापाइलामा सरकारबाट असहयोग

भनिन्छ नि,‘पैसा र पावर हुनेले कानुन पनि किन्छन् ।’ शंकरसंग पावर र पैसा दुवै भएकाले कानुनले पनि उनको केही बिगार्न सकेन । गम्भीर अपराधमा मुछिएका उनी आफ्नो मनमौजी चलाउँदै हिँडेका छन् । यता, पीडितले भने डराईडराई हिँड्नुपरेको छ । आफूलाई केही गरिदिने पो हो कि भन्ने भयले देवीलाई हरहमेशा सताइरहेको हुन्छ ।

११ वर्षदेखि न्यायका लागि लडिरहेकी उनले सरकारको कुनै पनि निकायबाट साथ र सहयोग पाइनन् । महिलाको हकका लागि लड्ने भनिएको संस्था ओरेकले समेत उनको पीडालाई हावादारीमा लियो । पीडितको पक्षमा उभिनुपर्ने ओरेकका पदाधिकारीहरुले पीडकको हकमा आवाज उठाइदिए ।

ओरेकबाट आफूलाई कुनै सहयोग नभएको देवीको गुनासो छ । पीडितमाथि ओरेकले पनि विभेद गरेको उनको आरोप छ । यद्यपि, ओरेककी काउन्सिलर जीवनकुमारी भट्टराईले यसलाई नकारेकी छन् । दुवै पक्षले आफू पीडित भनेकाले छुट्याउन गाह्रो परेको उनको भनाइ छ । ‘दुवै पक्ष आफूलाई पीडित भन्नुहुन्छ । कसलाई पीडक भन्ने, कसलाई पीडित’, उनले भनिन्,‘पछि हामीले यो जिम्मा वडालाई लगाइदियौं । वडाले नै हेर्दैछ ।’

ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष दौलतकुमार खत्री यो मुद्दा माथिल्लो निकायसम्म पुगिसकेको हुनाले आफूहरुले हेर्न नमिल्ने बताउँछन् । दुवै पक्षले खोल्न नमिल्नेगरी अपार्टमेण्टमा ताला लगाइदिएको र आफूहरुले पनि अदालतको फैसला पर्खिरहेको उनले बताए ।

यता, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले अदालतको फैसलाबारे अनभिज्ञ रहेको ठोकुवा गरेको छ । संस्थाका निर्देशक किरण खत्रीले अदालतले दोषी भनेर फैसला नगरेसम्म कारबाही गर्न नमिल्ने बताएका छन् ।

उच्च अदालतले फैसला गरेको तीन वर्ष बितिसक्दा पनि संस्थाले शंकरलाई कारबाही नगर्नुको अर्थ संरक्षण गर्न खोजेको अर्थ लाग्छ । अन्तिममा पुरुषप्रधान मुलुकमा महिला कतिसम्म पीडित बन्नुपर्दो रहेछ भन्ने यो एउटा ज्वलन्त उदाहरण पनि हो । महिलाले नै महिलाको पीडा बुझ्दैनन् यो समाजमा ।

टिप्पणीहरू