मकवानपुरमा वित्तीय अराजकताले सीमा नाघ्यो,व्यावसायिक संघ संगठन मौन

मकवानपुरमा वित्तीय अराजकताले सीमा नाघ्यो,व्यावसायिक संघ संगठन मौन

मुलुकको आर्थिक अवस्था शिथिल भएको मौका छोपेर व्यवसायी र व्यापारीहरु आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन् । व्यवसाय सञ्चालन गर्न भनेर ऋण लिएका ती व्यवसायी र व्यापारीहरु नै अहिले समाजमा अफवाह फैलाउन र अराजक सन्देश दिन अग्रसर भएका छन् । 

मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाविरुध्द अराजक ढंगले अघि बढेका छन् । उनीहरुले आजदेखि सर्वसाधारणलाईसमेत भड्काउने ढंगले सुन्दा आकर्षक तर अराजक सन्देशसहित कार्यक्रम गर्न लागेका छन् । 

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, होटल एसोसिएसन मकवानपुरलगायत ३२ वटा संघ संस्थाले आजदेखि ‘बैंकमा नगद जम्मा नगरौं’ भन्ने सन्देशसहित आन्दोलन थालेका छन् । ती व्यवसायीको उक्त आन्दोलन वित्तीय अराजकताको पराकाष्ठ भएको नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । 

विभिन्न राजनीतिक दलका जिल्ला तथा क्षेत्रीय स्तरका नेतासमेत रहेका ती संघ संगठनको पहलमा हुन लागेको अराजक गतिविधिलाई तत्काल रोक्नुपर्ने उनीहरुको भनाइ छ । वित्तीय अराजकता मुलुकको निम्ति अन्य अराजकताभन्दा कैयौं गुणाबढी असरको हुने एक जना बैंकरको भनाइ छ । उनले भने, ‘उक्त आह्वान गर्ने सबैलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइनुपर्छ ।’
 

टिप्पणीहरू