कैलाशकुट क्याम्पसमा चर्कियो विवाद, प्रशासनमा तालाबन्दी

कैलाशकुट क्याम्पसमा चर्कियो विवाद, प्रशासनमा तालाबन्दी

स्ववियु निर्वाचनको मुखमा राजधानीको गौशालामा रहेको कैलाशकुट बहुमुखी क्याम्पसमा विवाद चर्किएको छ । विभिन्न पार्टीका विद्यार्थी संगठनहरुबीच कुरा नमिल्दा त्यहाँ लफडा भएको हो । 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल क्रान्तिकारी (विप्लव) ले आज क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । 

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन बिथोल्ने गतिविधि गरिरहँदा पनि स्ववियु निर्वाचन समिति रमिते बनेर बसिरहेको संगठनको आरोप छ । 

अनेरास्ववियुले निर्वाचनको सम्पूर्ण गतिविधि बन्द गर्न खोजेको संगठनको ठहर छ । उनीहरुले आज विज्ञप्ति जारी गर्दै निर्वाचन समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि तालाबन्दी गर्न बाध्य भएको जनाएका छन् ।

‘अनेरास्ववियुसंग डराएर वा अरु विद्यार्थी संगठनलाई अटेर गरेर निर्वाचन प्रक्रिया बिथोल्न लागेको र निर्वाचनको सम्पूर्ण गतिविधि बन्द गरेर अनिर्णयको बन्दी बनाउन लागेको हुँदा हामी चार विद्यार्थी संगठनको बैठक बसि तत्काल निर्णय गर्न जोडदार माग गर्दै र उक्त निर्णय नगरुन्जेल निर्वाचन समितिको नालायकीपनका विरुद्धमा क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।

साथै, वार्ता र संवादमार्फत सहमति गर्ने परिस्थिति बनेमा आफूहरु हरदम तयार रहेको संगठनले बताएको छ ।

 

टिप्पणीहरू