सचिवहरुलाई आफ्नो विवरण अद्यावधिक गर्न एक साताको म्याद

सचिवहरुलाई आफ्नो विवरण अद्यावधिक गर्न एक साताको म्याद

राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव र सहसचिव तहका कर्मचारीहरुको वैयक्तिक विवरण खोतल्न थालेको छ । 

किताबखानाले राजपत्राङ्कित प्रथम श्रेणी, सो सरह वा सोभन्दा माथिल्लो श्रेणी (संघीय सेवा, प्रदेश सेवा) मा कार्यरत सबै सेवा, समूह, श्रेणीका कर्मचारीहरुको विवरण अद्यावधिक गर्न लागेको हो । निजामती सेवा नियमावली, २०५० को नियम १० तथा नियम १० (क) ले सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवम् अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । 

सोही व्यवस्थाअनुसार किताबखानाले कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्दै आइरहेको छ । किताबखानाले सूचना जारी गर्दै आगामी सात दिनभित्र आफ्नो विवरण अद्यावधिक गर्न सुसूचित गराएको छ । 

भनिएको छ, ‘हालको पदमा भएको नियुक्ति, सरुवा, बढुवा, हालको कार्यालय, शैक्षिक योग्यता र तालिमजस्ता विवरणहरु सात दिनभित्र अद्यावधिक गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

वैयक्तिक विवरण प्रणालीसँग सम्बन्धित कागजात स्क्यान गरेर किताबखानाको इमेलमा पठाउन सकिने जनाइएको छ । त्यस्तै, किताबखानामा आफैं उपस्थित भएर कागजात बुझाउन पनि सकिन्छ ।

टिप्पणीहरू