विशाल साम्राज्य हाँक्ने ती युवतीको बल

विशाल साम्राज्य हाँक्ने ती युवतीको बल सन्दर्भः ८ मार्च

अनास्तासिया ग्रिसको तिनोस टापुस्थित चर्चका पादरीकी छोरी हुन् । उनी सानै छँदा आमाबुबाले त्यो बेलाको ग्रिस (ओटोमन साम्राज्यकै) राजधानी कन्स्टान्टिनोपोलमा पठाइदिए । सन् १६०४ मा उनी १४ वर्षकी हँुदा ओटोमन साम्राज्यका सेना घोडा चढेर शहर, गाउँ पस्थे र कलिला केटीहरूलाई उठाएर लान्थे । यस्तैमा एकदिन अनास्तासिया बजारतिर एक्लै हिँडिरहेकी थिइन् । सेनाको नजर उनीमाथि पर्‍यो । कमाण्डरको संकेत पाउनेबित्तिकै एक जना सैनिकले जुरुक्क उचाले, घोडामाथि चढाए र सुल्तान (राजा) को जनानाघरतर्फ लिएर गए । अनास्तासियाले चाइँचुइँसम्म पनि गर्न भ्याइनन् ।

इस्तानबुलस्थित राजदरबार परिसरभित्र ठूला–साना भवन थिए । तोपकापी दरबारको नाउँले चिनिने यसभित्रको कुनै भवनमा सुल्तानका नोकर्नी, दासी, प्रेमिका, रानीहरू र कुनैमा अवैध सम्बन्धबाट जन्मेका छोराछोरी बस्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ कूल ४ सय कोठा थियो । तीमध्ये सयवटा जतिमा कर्मचारी प्रवेश गर्न सक्थे भने बाँकीमा सुल्तान र उनले चाहेका केही आफन्त मात्र जान पाउँथे । जनानाघर (हरम) भने सुल्तानको शयनकक्षबाटै जान सक्ने गरी बनाइएको थियो । उक्त जनानाघरमा कुनैमा २ सय त कुनैमा सय गरी कूल १८ सय महिला थिए । यसबाहेक डोल्माबाच दरबार, यिल्दिजिसिया दरबार परिसरभित्र पनि हरमहरू थिए, जहाँ सुल्तान बेलाबखत ‘आराम’ गर्न जान्थे ।

प्रत्येक हरममा एकजना किजलार आगा (प्रमुख) हुन्थ्यो । गद्दीमा बसिरहेका सुल्तानकी आमाको स्थान पनि हरममै हुन्थ्यो तर उनी त्यहाँ सबैभन्दा शक्तिशाली हुन्थिन् । सुल्तानलाई मनपर्ने दासी ‘हासेकी सुल्तान’ कहलिन्थिन् । सुल्तानको तर्फबाट सन्तान जन्माइसकेका महिलालाई ‘कादिम’ भनिन्थ्यो । हरममा रहेका सबै महिलाको दायित्व हुन्थ्यो– सुल्तानका लागि सन्तान जन्माउने । सुल्तानले सम्बन्ध बनाउन छानिएका अर्थात् कादिम बन्न गइरहेकालाई ‘इकबाल’ नाम दिइन्थ्यो ।

बोस्निया पुर्‍याइएकी अनास्तासियामा त्यहाँ कार्यरत किजलार आगा (मुखिया) को नजर पर्‍यो । अनास्तासिया अग्ली, पातली, गाढा खैरो आँखा र गोरो छाला भएकी सुन्दरी किशोरी थिइन् । आगाले अन्य युवती छान्नेक्रममा कोसेमलाई पनि छानिन् र एक हुल युवती राजधानी कन्स्टान्टिनोपोलतर्फ पठाइदिइन् । सुल्तान अहमदको सेवार्थ राजधानी पठाइएका युवतीलाई त्यहाँ तालिम दिइयो । सुल्तानसित कुरा गर्ने, बस्ने, खाने सबै तरिका सिकाइयो । अनास्तासियाले त्यहाँ सिलाइ, बुनाइ, धर्म, गणित, शास्त्र, गायन, संगीत, नृत्य, साहित्य सबैको अध्ययन गरिन् । सुल्तान अहमदको नजर चाँडै उनीमाथि पर्‍यो । सौन्दर्य र बौद्धिकताबाट प्रभावित बने । सुल्तानको निगाह पाएपछि अनास्तासिया छिट्टै नै दरबारको ‘हासेकी’ (प्रमुख दासी) मा पदोन्नति भइन् । सुल्तानकै आग्रहमा धर्म परिवर्तन गरी मुसलमान बनिन् । अहमद अनास्तासियाभन्दा १ वर्षले कान्छो थिए । अनास्तासिया कन्स्टान्टिनोपोल पुग्नु अघिल्लो वर्ष मात्र १३ वर्षको उमेरमा सुल्तान बनेका थिए । उनी नाबालिग भएकाले सत्ता चलाउने कुरोलाई लिएर आमा हान्दान सुल्ताना र बज्यै सुफियाबीच लामो समयसम्म सत्ता संघर्ष चल्यो ।

सुल्तान अहमद बाबु–बाजेभन्दा फरक स्वभावका थिए । हरमलाई हेर्ने दृष्टिकोण पनि फरक थियो । हरमकै कारण ओटोमन साम्राज्य बदनाम र कमजोर बन्दै गएको ठान्थे । अनास्तासियालाई देखेको पहिलो नजरमै अहमद घायल बने । त्यति राम्री युवती पहिलो पटक देखेका थिए । त्यसैले अनास्तासियाको नाउँ नै फेर्न लगाए– ‘माहपेकर’ अर्थात् चन्द्रमाजस्ती । अहमद हरमको बढ्दो भूमिकाबाट चिन्तित थिए अर्थात् बज्यै सुफियाको बढ्दो शक्तिबाट । हरमको भूमिकालाई गौण बनाउने बहाना बनाउँदै दैनिकजस्तै हरम जान थाले र प्रत्येक पटक अनास्तासियासित कुरा गर्न र उनको मुखबाट कथा सुन्न छुटाउँदैनथे । सुल्तानहरूलाई प्रभावित पार्न हरमका महिलाले कथा भन्ने चलन थियो । नियमित भेटघाटले अहमद र अनास्तासिया नजिकिँदै गए ।

दरबार र हरमका महिलाबीच अनास्तासिया र सुल्तानको प्रेमसम्बन्धी गफ मनोरञ्जनको विषय बन्न पुग्यो । बेलायती इतिहासकार फिलिप मन्सेलले आफ्नो पुस्तक ‘कन्स्टान्टिनोपोल’ मा लेखेका छन्, ‘सुल्तान अनास्तासियाको प्रेममा यति धेरै पागल बनिसकेका थिए कि आमाको कुरो सुन्नसमेत तयार भएनन् । पत्नी मेहफुरिज खातुनलाई समेत त्याग्न तयार भए ।’ अहमदले मेहफुरिजसँग बिहे आफू सुल्तान बनेको अघिल्लो सालमै गरेका थिए । मेहफुरिजले एक छोरा (ओस्मान) पनि जन्माइसकेकी थिइन् । अहमद कसैको दबाब सहन तयार थिएनन् । चन्द्रमाजस्तो अनुहार भएकी अनास्तासियाले मोहनी लगाइसकेकी थिइन् । उनी चन्द्रमाको सूर्य बन्न तयार थिए । अब त अहमद हरममै रात बिताउन थाले । पागलपनसामु आमा र बज्यै दुबैले हार माने र अनास्तासियालाई ‘सुल्ताना’ बनाउन राजी बने । अनास्तासिया साम्राज्ञी बनेपछि नाउँ फेरेर कोसेम बनिन् ।

अहमदको प्रेम साँचो थियो, पवित्र थियो । इतिहासकारहरूका अनुसार कुनै तुर्की सुल्तानले कसैसित यति गहिरो प्रेम गरेकै थिएन । तर, कोसेमको अहमदसँगको प्रेममा भने छल थियो । उनी निकै चलाख मात्र हैन, धुर्त नै थिइन् । साम्राज्ञी बनेपछि राजनीतिक शक्ति हत्याउन षड्यन्त्रको तानाबाना बुन्न थालिन् । उनी जो–कसैलाई पनि कुराकानीबाट सजिलै प्रभावित पार्न सक्थिन् । आफ्नो महत्वाकांक्षा पूर्ति गर्न जनतालाई धेरै आश्वासन दिन्थिन्, पछि झुक्याउँथिन्। इतिहासकारहरू कोसेमले रूप र सौन्दर्यमार्फत अहमदको प्रेमलाई खिल्ली उडाएको दाबी गर्छन् । अहमदले ‘हासेकी सुल्तान’ (वैध तथा प्रमुख रानी) को दर्जा पनि उनैलाई दिए, पहिलो पत्नी मेहफुरिजलाई दिएनन् । कोसेमले सत्ताको मादमा अहमदकी प्रथम पत्नी मेहफुरिजलाई बेपत्ता पारिन् । धेरैले उनलाई देशबाट धपाइएको अनुमान गरेका छन् ।

सन् १६१७ मा सुल्तान अहमदको अल्पायुमै मृत्यु भयो । पतिको मृत्युपछि कोसेम अझ बढी शक्तिशाली बन्न खोजिन् । र, सफल पनि बनिन् । यसपछि लगातार ४ दशक सत्ताको बागडोर सम्हालिन् । राजनीतिका सबै क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरिन् । त्यसो त सुल्तान बनेका थिए अहमदका सौतेनी भाइ मुस्तफा । तर, उनी ३ महिना मात्र सत्तामा बस्न सके । उनलाई मेहफुरिजका छोरा ओस्मानलाई गद्दीसिन गराउनको निम्ति अपदस्थ गरियो किनभने कोसेम आफ्नै सौतेनी छोरा ओस्मानसित प्रेम गर्न थालेकी थिइन् । ४ वर्ष नबित्दै उनको हत्या भयो र फेरि मुस्तफा नै गद्दीमा बसे । मुस्तफालाई पनि उनैले प्रयोग गरेकी थिइन् किनकि सुल्तान बन्न मुस्तफा तयारै थिएनन् । पछिल्लो समय उनमा पागलपन सवार भयो ।

ओस्मानको भूत देख्न थाले । उनको पागलपनबाट कोसेमले फाइदा उठाइन् । उनलाई अपदस्थ गरी छोरा मुरादलाई गद्दीमा बसालिन् र आफैँले शासन गरिन् । मुराद १७ वर्ष सुल्तान बने तर शासनको बागडोर सबै कोसेमको हातमा थियो । उनैको पालामा कोसेमले मुस्तफाको हत्यासमेत गर्न लगाइन् । मुरादपछि फेरि अर्को छोरा इब्राहिमलाई गद्दीमा बसालिन् । कोसेमले सत्ताको बागडोर आफूले लिन छोरालाई हरममा लिप्त पारिन् । इब्राहिम मोटी महिलाको सौखिन थिए । कोसेम आफैंले मोटी महिला खोजिखोजी भिडाइदिन्थिन् । एउटी आर्मेनियाइ मोटी महिलाप्रति त इब्राहिम यति धेरै आशक्त बने कि उनले दमास्कस सहर (वर्तमानमा सिरियाको राजधानी) को गभर्नर नै बनाइदिए । 

८ वटी दासीलाई रानी बनाएका इब्राहिमको शासनकालमा राज्यमा ठूलो उथलपुथल भयो । आन्दोलित जनता दरबारतर्फ बढे । इब्राहिम आफ्नो ज्यान बचाइदिन गुहार्न थाले । यसबीच कोसेम दरबारको झ्यालमा देखा परिन् । उनले आफूलाई नमार्न बरु छोराको हत्या गर्न भीडलाई आग्रह गरिन् । आन्दोलित जनताले इब्राहिमको घाँटी अँठ्याएर मारे । छोराको मृत्युदण्डपश्चात कोसेमले गद्दीमा आफ्नै नाति महमुद (चतुर्थ) (इब्राहिमकै ६ वर्षको छोरा) लाई आसिन गराइन् र फेरि सत्ता हाँकिन् । उनले नातिलाई अगाडि सारेर शासन गरिन् । तर, यो कुरो मुहमदकी आमा खादिजा तुरखानलाई मन परेन । उनी रुसी र कोसेमजस्तै पहिला खरिद गरेर ल्याइएकी दासी थिइन् । उनले कोसेमलाई मार्गबाट हटाएर छोरालाई शक्तिशाली बनाउने योजना बनाइन् । 

सन् १६५१ सेप्टेम्बर २ (रमादानको १६ औं दिन) । किजलार आगा सुलेमान करिब १ सय २० जना सैनिकको साथमा दरबारभित्र प्रवेश गरे । सुलेमानलाई दरवार प्रवेशमा ११ वर्षीय सुल्तानले साथ दिएका थिए । उनीहरू सिधै कोसेमको निवास पुगे । त्यहाँ ३ सय जनाजति सुरक्षाकर्मी थिए । सुलेमानका सैनिकले त्यहाँ सुरक्षार्थ बसेका केही गार्डलाई मारे । बाँकीलाई भगाए । कोसेम सुलेमानको स्वर सुन्नेबित्तिकै गहना पोको पारी पछिल्लो ढोकाबाट भागिन् । तर, मुख्यद्वार बन्द थियो त्यसैले नजिकैको सानो कोठामा गएर लुकिन् । एकछिनपछि सैनिक त्यहीँ पुगे । कोसेमले आफूले बोकेर ल्याएको गहनाको पोको खोलिदिइन् । सेना भुइँमा छरिन पुगेको बहुमूल्य गहना टिप्नतिर लागे । कोसेमले भाग्न यही मौका खोजेकी थिइन् तर सफल भइनन् । 

सेनाले उनलाई घिसारेर सुलेमानको सामु लगे । सुलेमानले ठाडै आदेश दिए ‘मार्देऊ’ । आदेश पाउनेबित्तिकै ४ जना युवा सैनिक जवानले मसिनो डोरी कोसेमको घाँटीमा बेरे । एक जना सैनिक कोसेमको जिउमा चढेर घाँटी दबाउन थाले भने अरुले दायाँ–बायाँ उभिएर डोरी तान्न शुरु गरे । आफ्नो जिउमाथि चढेर घाँटी अँठ्याउन खोजेको सैनिकको औंला टोकिदिएका कारण उनले कोसेमको निधारमा लात्ती हाने । कोसेम प्रहार सहन नसकी उत्तानो परिन् । सबैले ‘मरिन् मरिन्’ भन्दै सुल्तान र उनकी आमालाई खबर पुर्‍याउन गए । कोसेम मरेकी थिइनन् । सबै जना त्यहाँबाट हिँडेको मौका पारेर घिस्रिँदै भाग्न खोजिन् तर सेनाले देखे र पुनः पक्रिए । फेरि घाँटीमा बेरिएको डोरी कसे । उनी निकै छट्पटाइन् । आफ्नो कपाल लुछिन् । एकछिनपछि कान र नाकबाट रगत बग्न शुरु भयो र शरीर शिथिल भयो । मारिँदा उनी ६२ वर्षकी थिइन् । इतिहासकारले कोसेमलाई ओट्टोमन साम्राज्यकालको चार शक्तिशाली महिलामध्ये एक मान्ने गरेका छन् । ६ सय वर्षभन्दा बढी राज गरेको यो साम्राज्य दक्षिणपूर्वी युरोप, पश्चिम एशिया र उत्तरी अफ्रिकासम्म फैलिएको थियो ।
 

टिप्पणीहरू