चिनियाँ जेलमा आजीवन थुनिएकी न्याउलीको कथा

चिनियाँ जेलमा आजीवन थुनिएकी न्याउलीको कथा

स्कुले जीवनमा युधीर थापाका उपन्यासहरू खोजी–खोजी पढिन्थ्यो । साहित्यप्रतिको अभिरुचिले भन्दा पनि त्यतिबेला यस्ता उपन्यास पढ्ने फेसनजस्तै थियो । समयक्रमसँगै उपन्यासप्रतिको मोह भंग हुँदै गयो । दर्शन, व्यक्तिका जीवनी, नियात्रालगायत वास्तविक घटनामा आधारित सृजनाहरू रुचिका विषय बन्न थाले । बजारमा चर्चा कमाएका पुस्तकहरू मिलेसम्म पढ्ने गरेको छु । पछिल्लो समय मन परेको पुस्तकको सूचीमा थपिएको थियो – चेतनाथ आचार्यको चीन चियाउँदा ।

पाँच वर्षअगाडिको उक्त पुस्तक शीर्षकले नै पढ्न प्रेरित गरेको हो । पुस्तकका पारखी एकजना मित्रले सिफारिस गरेका थिए । छिमेकी मुलुक भएपनि महाशक्ति राष्ट्र चीन अधिकांश नेपाली जस्तै मेरालागि पनि बिरानो हो । केरुङसम्म पुगेको मेरालागि सिङ्गै चीन घुमाउने माध्यम बन्यो, चीन चियाउँदा । म लोभिनुको कारण पनि त्यही थियो । चिनियाँ भाषा, संस्कृति, चाडपर्व, जीवन पद्धति, अर्थतन्त्र अनि त्यहाँको आधुनिक विकासबारे चलचित्र हेरेजस्तै छ्याँग हुने पुस्तक दोहोर्‍याएर पढ्दा पनि धित नमर्ने । त्यसैले चीनसँग सम्बन्धित अर्को पुस्तक बजारमा आए खोजेर पढ्ने अठोट त्यतिबेला नै बनिसकेको थियो ।

चेतनाथ आचार्यकै अर्को पुस्तक ’रुइबा’ बजारमा आएको थाहा थियो । तर, शीर्षकले खासै ध्यान खिचेन । तथापि अघिल्लो पुस्तकले लोभिएको म ’मौका मिले पढ्नुपर्छ’ भन्नेमा चैं थिएँ । अन्ततः पुस्तक हातमा प¥यो । उत्सुकताका साथ पाना पल्टाउन थालेँ । पहिलो हरफमै बेइजिङस्थित चिनियाँ दूतावासका कर्मचारी र छन्तु घुम्न जाने प्रसंगले खोजेकै पुस्तक हात प¥यो भन्ने लाग्यो । चीन चियाउँदा तीन दिन लगाएर पढेको थिएँ, पुस्तकमा यति गहिरोसँग छिरेछु कि, रुइबा एकैदिनमा सकेँ ।

गरिबी, अभाव र अशिक्षाका कारण पैसा कमाउने लोभले गैरकानुनी काम गर्दा चिनियाँ जेलमा पुगेकी एक नेपाली महिलाको संघर्षको कथा समेटिएको उपन्यास हो, रुइबा । धादिङको एउटा विकट गाउँकी सोझी युवती कसरी चीनको जेलसम्म पुगिन् भन्ने कारुणिक र मर्मस्पर्सी कथा उपन्यासले मज्जासँग उधिनेको छ । कथाको मूल पात्र हुन् न्याउली । विवाह गाउँकै दोर्जेसँग भएको हुन्छ । आर्थिक अभावका कारण काखे छोरा र गर्भवती श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीका लागि मलेसिया गएको दोर्जेको उतै मृत्यु भएपछि शुरु हुन्छ न्याउलीको पीडाका कथाहरू । लोग्ने विदेशमा मरेपछि ऋण तिर्न नसक्दा घरखेत गुमाएकी न्याउली माइती (बृद्ध आमा)को बोझ बन्नु परेकोमा थप पीडित हुन्छे । तर, बाध्यताको जञ्जिरमा बाँधिएकी ऊसँग कुनै विकल्प हुँदैन । त्यस्तैमा एकदिन गाउँकै एकजनाले उसलाई शहरमा पैसा कमाई हुने लोभ देखाउँछ । त्यसपछि ऊ पाँच वर्षको छोरा मंगलेलाई आमासँग गाउँमै छोडेर तीन वर्षकी छोरी सोममायालाई च्यापी शहर पस्छे ।

पैसा कमाएर जीवन रंग्याउने आशा बोकी शहर छिरेकी उसलाई हण्डर सिवाय केही प्राप्त हुँदैन । शहरका टाठाबाठा र नेताबाट पटक–पटक लुटिन्छे । महिला हकहितको वकालत गर्ने संस्थाबाटै शारीरिक शोषण भएको, होटलकी साहुनीले कुटेर छोरी बिरामी परेको सन्दर्भ निकै गम्भीर छ । त्यस्तै, छोरी सोममायालाई अनाथालयमा बुझाउन न्याउलीले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेको विषयले आँखा रसाउँछ । ठूलो महत्वाकांक्षा केही छैन, तर पनि शहरले उसलाई दुःख र हैरानीमात्र दिइरहन्छ । त्यहि सिलसिलामा उसको भेट एकजना लागूऔषध तस्करसँग हुन्छ । गाउँकै मदन तामाङ र उसलाई धेरै पैसा दिने प्रलोभनमा पारेर लागूऔषधको भरिया बनाई चीन पठाइन्छ । उनीहरू दुबै चीनको छङ्तु एयरपोर्टमा पक्राउ परेर आजीवन कारावासको सजाय पाउँछन् । उपन्यासको मूल सार यत्ति नै हो ।

कथाको सुरुआत चिनियाँ जेलबाट भए पनि अधिकांश घटना र परिवेश नेपालमै केन्द्रित छ । गाउँले जीवन, त्यहाँ हुने जातीय विभेद, धर्म परिवर्तन, अनमेल विवाहजस्ता सवाललाई मूल विषयसंग जोडेर लेखकले उपन्यासलाई गहकिलो बनाएका छन् । नेपाली ग्रामीण समाजमा अहिले पनि विद्यमान घरखेत बन्धकी राखेर विदेश जानुपर्ने बाध्यता, दलालको ठगी, यार्सागुम्बा टिप्न जाँदा ज्यान गुमाउनुपरेको सन्दर्भले कथाको सजीवता झल्काउँछ । अहिलेका तामाङ युवायुवतीले समेत भुलिसकेको तामाङ भाषा, संस्कृति, संस्कार र चालचलन टपक्कै टिपेर पुस्तकमा उतारिएको मात्र छैन अशिक्षा र गरिबीले थिचेपछि मानिस बाध्यतामा जे गर्न पनि तयार हुन्छ भन्ने कुरालाई लेखकले मर्मस्पर्शीरूपमा उठाएका छन् । जुन यस कृतिको बलियो पक्ष हो ।

लेखकको आशय थियो कि थिएन तर, चीनलाई बुझ्न पनि पुस्तकले धेरथोर मद्धत गरेको छ । उपन्यास पढेपछि पाठकले बाहिरी जगतले बुझेको चीन र वास्तविक चीनबीचको फरक छुट्याउन सक्छ । चिनियाँ समाज अझै खुला छैन, त्यहाँ मानवअधिकारको सम्मान गरिंदैन भन्ने कुरालाई जेलमा न्याउलीले पाएको माया, ममता, सद्भावले खण्डन गरेको छ । साथै, जेलमा जोडिएका चिनियाँ पात्रहरू पनि चीनबारे छरिएका भ्रम र लुकेका तथ्यहरू बाहिर ल्याउन थोरबहुत सहयोगी बनेका छन् । त्यस्तै, चिनियाँ र नेपालीहरूको आवश्यकताको प्राथमिकीकरणमा रहेको गहिरो भेद कहीं न कहीं कथाले बोलेको छ ।

उपन्यास पढिरहँदा त्यहाँभित्रका संवादले तामाङ भाषाको चलचित्र हेरेजस्तो अनुभूति हुन्छ । तामाङ लवजलाई जस्ताको त्यस्तै टिपेर लेखकले पाठकमाथि थप न्याय गरेका छन्् । यति हुँदाहुँदै पनि उपन्यास सत्यकथामा आधारित हो या काल्पनिक भन्नेमा पाठक अन्योलमा पर्ने देखिन्छ । लेखकले शुरुमै ‘उपन्यासमा चित्रित पात्र, घटना र स्थान काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र मानिनेछ’ भनेका छन्् तर पुस्तक पढ्दा त्यस्तो लाग्दैन । किनभने पात्र, परिवेश र घटनाक्रमले उपन्यास यथार्थमा आधारित हो कि झैँ लाग्छ । अर्कोतर्फ, न्याउलीसँगै जेल परेका र मृत्युदण्डको सजाय सुनाइएका मदनको अवस्था पनि उपन्यासमा जोड्न सकेको भए अझै खँदिलो हुन्थ्यो होला ।

उपन्यासकार आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई), बेइजिङमा सञ्चार विशेषज्ञका रूपमा कार्यरत पत्रकार हुन् । उनको यो कृति फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको सारपक्ष जति ओजिलो छ रूपपक्ष त्यही मात्रामा छैन । अर्थात् आवरण र साजसज्जा औसत लाग्छ । उपन्यासको शीर्षकमात्र हेरेर पाठक लोभिने सम्भावना निकै कम देखिन्छ । खैर, नेपाली साहित्यको उपन्यास विधामा एउटा सशक्त कृति भने थपिएको छ ।

टिप्पणीहरू