प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखको सामुहिक भेट

प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखको सामुहिक भेट

राजधानी काठमाडौंमा भेला भएका सात वटै प्रदेशका प्रमुखहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । नयाँ राष्ट्रपतिलाई बधाई दिन राजधानी आएका प्रदेश प्रमुखहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग सामुहिक गुनासो पोख्ने क्रममा आज प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गर्नुभएको हो । 

यसबीच सातै जनाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भेटिसक्नुभएको छ । भेटघाटमा उहाँहरुले संघीयताविरुद्धका गतिविधि र प्रदेश प्रमुखको मर्यादाक्रम मिलाउनुपर्नेबारे तथ्यगत जानकारी दिनुभएको स्रोतको दाबी छ । 

राजनीतिक भेटघाटमा व्यस्त हुनुभएका प्रदेश प्रमुखहरुमा कोशीका परशुराम खापुङ, मधेसका हरिशंकर मिश्र, बाग्मतीका यादवचन्द्र शर्मा,गण्डकीका पृथ्वीमान गुरुङ र कर्णाली प्रदेशका प्रमुख तिलक परियार हुनुहुन्छ । बाँकी दुई जना अस्ति फर्कनुभएको थियो ।

प्रदेश प्रमुखको प्रोटोकल दुईथरी छ । बाग्मतीका प्रदेश प्रमुख पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री सरह रहँदा अन्य प्रदेशका प्रमुख एक तह तल छन् । त्यस्तै,प्रदेश प्रमुख जुन प्रदेशमा हुन्छ, त्यहाँ उ उपप्रधानमन्त्रीसरह सातौँ नम्बरको वरियतामा हुन्छ । तर,अर्को प्रदेशमा जाँदा आठौँमा झर्छ । 

यस्तो अन्तरविरोधी व्यवस्थाका कारण प्रदेश प्रमुख आफैँले शपथ खुवाएको मुख्यमन्त्रीभन्दा तलको वरियतामा पर्ने अवस्था बनेकाले सच्चाउन यसअघि पनि माग हुँदै आएको थियो ।

टिप्पणीहरू