बढेको दुधको मूल्यवृद्धिले किसानलाई कति राहत ?

बढेको दुधको मूल्यवृद्धिले किसानलाई कति राहत ?

गत फागुन १९ गतेदेखि लागू हुनेगरी सरकारले दुधमा प्रतिलिटर ९ रुपैयाँ मूल्यवृद्धि गरेको छ । दुधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसाबाट वृद्धि गरेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय गरिएको हो । यसअघि अघिल्लो वर्ष माघ १७ गते सरकारले एक लिटर दुधमा १६ रुपैयाँ बढाएको थियो ।

सरकारद्वारा २०७४ सालमा तर्जुमा गरेको नीतिबमोजिम दुधको मूल्य प्रत्येक दुई वर्षमा मात्र समायोजना गरिनुपर्छ । तर, मूल्यवृद्धिको एक वर्ष नबित्दै सरकारले पुनः ९ रुपैयाँ बढाएको छ । यसरी एक वर्षको अन्तरालमा दुधको मूल्य लिटरमा १४ रुपैयाँ बढेको देखिन आउँछ । 

कच्चा दुधको मूल्य बढेपछि डेरी उद्योगीहरुले आफ्नै हिसाबले बजार भाउ बढाएका छन् । यसबाट बिरामी, वृद्धवृद्धा तथा बालबालिकाका लागि अत्यावश्यक पौष्टिक तत्वका रुपमा रहेको दुधको मूल्य बढेपछि उपभोक्ताहरु महंगीको थाप मारमा परेका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी प्रदीप भट्टराई दुधको लागत मूल्य बढेका कारण बजार भाउ बढेको बताउँछन् । उनले पछिल्लो समय गाईं÷भैंसीलाई खुवाउने दाना, मकै, धान, पिठो सबैको मूल्य बढेको तर उचित मूल्य अभावका कारण किसानहरु बिस्थापित हुनुपर्ने देखिएकाले दुधको मूल्य बढाइएको दाबी गरे ।

उनले भने, ‘सरकारले २०७४ मा बनाएको नीतिअनुसार दुधको मूल्य प्रत्येक दुई वर्षमा बढाउनुपर्ने व्यवस्था छ । तर, गत वर्षको तुलनामा यस वर्ष महंगी निकै बढेकाले दुधको मूल्य बढाउने निर्णय गरिएको हो ।’ उनका अनुसार यसबीचमा लागत मूल्य नबढेको भए दूधको मूल्य बढ्दैन थियो । 

नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर भएकाले यसको आयातमा रोक लगाइएको छ । तर, पछिल्लो समय उचित मूल्य अभावका कारण अधिकांश किसान विस्थापित भएकाले दुध उत्पादन घटेको उनी सुनाउँछन् । त्यसैले, किसानको समस्यालाई मध्यनजर गरी दुधको मूल्य बढाउने निर्णय गरिएको भट्टराईको तर्क छ ।

सरकारले दुधको मूल्य बढाएसँगै यसबाट बन्ने अन्य उत्पादनको पनि भाउ बढेको छ । अहिले दुध प्रतिलिटर १४ रुपैयाँ, पनिर प्रतिकिलो एक सय ४० रुपैयाँ, घिउ प्रतिलिटर दुई सय रुपैयाँ र दही प्रतिलिटर ३० रुपैयाँले महंगिएको छ । 

नयाँ मूल्य सूचीअनुसार अब एक लिटर प्रशोधित दुधको निम्ति सय रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, एक लिटर दहीको निम्ति एक सय ३० रुपैयाँ, एक किलो पनिरको लागि आठ सय ४० रुपैयाँ र एक लिटर घिउका लागि एक हजार ३ सय तिर्नुपर्ने भएको छ । यसबाहेक नौनी र अन्य दुग्धजन्य पदार्थको पनि भाउ बढेको छ । 

यता, दुधको मूल्य अचानक बढेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । दुधको मूल्य बारम्बार बढाउँदा आफूहरुमाथि आर्थिक भार थपिएको उनीहरुको भनाइ छ । सरकारले किसानको नाम लिएर दुधको भाउ बढाए पनि अन्तिममा पोस्ने बिचौलियालाई नै भएको उनीहरुको आरोप छ ।

वास्तविक किसान सँधै मारमा पर्ने उपभोक्ताहरु बताउँछन् । बारामा व्यावसायिक गाईपालन गर्दै आएका थानेश्वर पहाडीले बढेको मूल्यप्रति आफू निकै खुशी भएको बताए । गाईवस्तुलाई आवश्यक पर्ने दाना, धान, मकै, पिठो सबैको मूल्यवृद्धि भएको छ, आम्दानीभन्दा बढी त लागत छ’, उनले भने, ‘३५ ओटा गाईभैँसीबाट महिनाको तीन लाखसम्मको दुध बिक्री वितरण गर्छु । तर, बिक्री गरेर आएको रकमले गाईभैँसीमा गरिएको खर्चको न्यूनतम लागत नै उठ्दैन ।’

बढेको मूल्यले थोरै भए पनि राहत हुने उनको भनाइ छ । यता, उपभोक्ता सीता मैनालीले भनिन्, ‘बच्चादेखि बुढालाई दिनहुँ दुध चाहिन्छ । तर, वर्षदिन पूरा नभईकन दुधको मूल्य बढाउँदा निकै अप्ठ्यारो परेको छ ।’ दुधको मूल्य बढ्नेबित्तिकै अन्य दुग्ध पदार्थको मूल्य बढ्ने भएकाले उनले सरकारसँग बढाएको मूल्य फिर्ता लिन माग गरेकी छन् ।

हालको बजार मूल्यअनुसार उपभोक्ताले एक लिटर दुधको सय रुपैयाँसम्म तिर्छन् । तर, किसानको हातमा ६५ रुपैयाँ मात्र पर्छ । बीचको २० देखि ३० रुपैयाँ बिचौलियाले लिने गरेको देखिन्छ । ‘उपभोक्ता र किसान सुक्दै, बिचौलिया सँधै मोटाउँदै भनेको यही हो’, अर्का एक उपभोक्ताले भने ।

टिप्पणीहरू