यी हुन उपराष्ट्रपति चुनावमा भोट नहाल्ने ५३ सांसद
उपराष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा ५३ जना मतदाता अनुपस्थित भएका छन् । संघीय सांसदतर्फबाट २१ र प्रदेशसभाका ३२ जना सांसद भोट हाल्न नगएका हुन् ।
निर्वाचन आयोगका अनुसार कुल ८८२ मतदाता रहेकोमा ८२९ मत मात्रै खसेको हो । जसमा संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्दा दुबैतिरका गरी ५३ जना अनुपस्थित भए । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ गरी संघीय संसदका ३३४ र प्रदेशका ५५० सांसद राष्ट्रपति चुनावका मतदाता हुन् ।
तर, प्रतिनिधिसभाका दुई सांसद नेपाली काँग्रेसका टेकबहादुर गुरुङ निलम्बित र रास्वपाका रवि लामिछाने पदमुक्त हुँदा निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीको सूचीमा मतदाता संख्या ३३२ छ । त्यसबाहेक बिरामी परेर विदेशमा उपचार गराइरहेका सांसदद्वय काँग्रेसका डा. चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन मतदान प्रक्रियामा सहभागी हुन सकेनन् । संघीय सांसद मनाेरमा शेरचन पनि बिरामी भएकाले भोट हाल्न जान सकिनन् ।
व्यक्ति हत्याको आरोप लागेका एमालेका लक्ष्मी महतो कोइरी पनि भोट हाल्न बानेश्वर गएनन् भने जसपाका सांसद सहनाज रहमानको निधन भएकाले एकजना मतदाता स्वत: घटेको थियो । त्यस्तै, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा तटस्थ रहने निर्णय गरेको राप्रपाका १४ जना संघीय सांसदहरु राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा मतदानमा सहभागी भएनन् । त्यस्तै, राप्रपाका २८ जना प्रदेश सांसद पनि मतदान प्रक्रियामा सहभागी भएनन् ।
उपराष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल पनि तटस्थ बसे । प्रदेशतर्फ नेमकिपाका ३ सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएनन् ।
टिप्पणीहरू