प्रधानमन्त्रीलाई १७३ जनाको समर्थन हुने सम्भावना
आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नुहुने भएको छ । यसअघि पुस २६ गते पनि उहाँले विश्वासको मत लिनुभएको थियो । त्यसबखत उहाँलाई झण्डै सबै सांसदको विश्वास थियो । उक्त मतदानमा २ सय ६८ जना सांसद उहाँको पक्षमा देखिएका थिए ।
आजको प्रस्तावमा भने प्रतिनिधि सभाका १ सय ७३ जना सांसदले समर्थन गर्ने हिसाब निकालिएको छ । उहाँलाई नेपाली काँग्रेसले समर्थन गर्ने निर्णय भैसकेको छ । तर काँग्रेसका ८९ जनामध्ये ८६ जना सांसदले मात्र मतदान गर्ने छन् ।
मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बित,गुल्मीका चन्द्र भण्डारी उपचारको क्रममा भारतमा र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकाले तीन जनाले मतदानमा भाग लिनु हुने छैन ।
प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रका ३२ मध्ये ३१ जनाले मतदान गर्नेछन् । माओवादी नेता तथा सांसद वर्षमान पुन उपचारको क्रममा चीनमा हुनुहुन्छ ।
उता जनता समाजवादी पार्टी नेपाल (जसपा) का १२ जना सांसद छन् । तीमध्ये १० जनाले आजको मतदानमा भाग लिने बताइएको छ । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित र सहनाज रहमानको निधन भएकाले जसपाका १० जनाले मात्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने अवस्था बनेको हो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ जनाले मत दिने बताइसकेका छन् । उक्त पार्टीका सभापति तथा सांसद रवि लामिछाने दोहोरो नागरिकता काण्डमा सर्वोच्च अदालतको आदेशपछि पदबाट मुक्त भएका छन् ।
अन्य पार्टीमध्ये नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४ र राष्ट्रिय जनमोर्चा नेपालका १ जना सांसदले पनि उहाँलाई मतदान गर्ने छन् । स्वतन्त्र सांसदमध्ये प्रभु साह र अमरेश सिंहले पनि विश्वासको प्रस्तावमा मतदान गर्दा प्रधानमन्त्रीलाई १ सय ७३ मत प्राप्त हुने आकलन गरिएको हो ।
उहाँको विपक्षमा नेकपा एमाले, राप्रपा र नेमकिपा उभिएका छन् ।
टिप्पणीहरू