विवादबीच पाथीभरा क्याम्पसको निर्वाचन सम्पन्न

विवादबीच पाथीभरा क्याम्पसको निर्वाचन सम्पन्न

कमल भट्टराई

पाथीभरा क्याम्पस ताप्लेजुङको स्ववियु निर्वाचनको क्रममा हिजो झडप भएको छ । झडप रोक्न प्रहरीले हवाई फायर गरेको थियो । दिउँसो ४ बजेसम्म भएको निर्वाचनको मत गणना गर्दा निर्वाचन बहिष्कार गरेका समूहका अध्यक्षले समेत ४३ मत प्राप्त गरेका छन् । विजयी समुहका अध्यक्षले ४०८ मत प्राप्त गरेको बताइएको छ ।

क्याम्पसमा संयुक्त लोकतान्त्रिक वाम प्रगतिशील गठबन्धनका विद्यार्थी समूहको सेट नै विजयी भएको घोषणा गरिएको छ । तर, निर्वाचनको विवाद अझै कायम छ ।

यसअघि क्याम्पस प्रशासनले पहिले एक जना प्राध्यापकलाई निर्वाचन अधिकृत तोकेको थियो । प्राध्यापकहरुबाटै त्यसको विरोध भएपछि अर्कलाई तोकियो । ती प्राध्यापकले आफूले नभ्याउने भनेपछि तेस्रो प्राध्यापकलाई निर्वाचनको जिम्मा दिइएको थियो । 

उनै मतदान अधिकृतले निर्वाचनका सबै प्रक्रिया अगाडि बढाए । तर चैत्र २ गते अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले निर्वाचन अधिकृत परिवर्तन र मतदाता विद्यार्थी विवरण ठीक नभएको, त्यसलाई सुधार गरेर सहमतीमा मात्र निर्वाचन गर्नुपर्ने माग राख्दै क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिदिएको बताइन्छ । 

यता संयुक्त लोकतान्त्रिक वाम प्रगतिशील गठबन्धन समूहले पनि चैत्र ३ गते समयमै निर्वाचन गरिनुपर्ने माग राख्दै क्याम्पस प्रशासनलाई दबाब दिएका थियो । क्याम्पस प्रशासनले सहमतिको निम्ति बोलाएको ३ गतेको बैठक निष्कर्षविहीन भएको हो । 

तर क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रशासन र निर्वाचन समितिलाई प्रक्रिया अगाडि बढेकाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशद दियो । सोहीबमोजिम हिजो बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन भएको हो । 

तर अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले उक्त अवस्थामा निर्वाचन गराएमा आफूहरु निर्वाचनमा सहभागी नहुने र त्यसबाट उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवारी स्वयम् क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी दिएका थिए । उनीहरुको चेतावनीपछि जिल्ला प्रशासन कार्यालयले अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र संयुक्त लोकतान्त्रिक वाम प्रगतिशील गठबन्धनका विद्यार्थीसहितलाई बोलाएर गरेको वार्ता पनि निष्कर्षविहीन बनेपछि बाक्लो सुरक्षा घेरामा हिजो निर्वाचन सम्पन्न भएको हो ।

टिप्पणीहरू