सत्तागठबन्धन कमजोर, विप्लवसहितको नयाँ बामगठबन्धन बलियो
सत्ताधारी गठबन्धनलाई समेत फुटाएर नयाँ बनेको बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रारम्भिक सफलता हासिल गरेको छ । बिप्लव नेतृत्वको अखिल क्रान्तिकारीलाई समेत हात लिएर नेकपा एमालेको अनेरास्ववियु र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियुबीच बनेको नयाँ बाम गठबन्धनले हिजो सम्पन्न चुनावमा प्रारम्भिक सफलता हासिल गरेको हो ।
जिल्लाको कूल ८ वटा क्याम्पसमध्ये उत्तरी क्षेत्रको थाहानगरस्थित पालुङ बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीलाई सर्बसम्मत नेतृत्व छाडेर भागबन्डा गरेपछि जिल्लाभर बाँकी अन्य ७ वटा क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको हो ।
बिप्लव,एमाले र समाजवादीनिकट विद्यार्थी संगठन सम्मिलित बाम गठबन्धनले सफलता हात पारेको छ । यो गठबन्धनले जनप्रिय बहुमुखी क्याम्पस, बंशगोपाल बहुमुखी क्याम्पस,मनहरी बहुमुखी क्याम्पस र निर्मल बहुमुखी क्याम्पस गरी ४ वटा क्याम्पसमा जीत हासिल गरेको छ ।
जनप्रियमा बिप्लव नेतृत्वकी मुना गोलेको टिमले जितेको छ । त्यसैगरी बंशगोपालमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दिवस सिलवाल निर्वाचित भएका छन् भने अर्कोमा एकीकृत समाजवादीनिकट अनेरास्ववियुकै कुमार घिसिङ नेतृत्वको टिमले जीत हासिल गरेको छ ।
हेटौँडा १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सरोज अर्यालले अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवारलाई पराजित गरेका छन् । अब हेटौँडा क्याम्पस,वन विज्ञान क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसको नतिजा सार्बजनिक हुन बाँकी छ । तीमध्ये पनि हेटौँडा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुकै अभि मैनालीले मतान्तर बढाइरहेको खबर छ ।
अहिलेसम्मको नतिजा अनुसार साना मानिएका ४ वटा क्याम्पसहरुमा नयाँ गठबन्धनले जीत हासिल गरी काँग्रेस र माओवादी निकट विद्यार्थी संगठनलाई पछाडि पारेका छन् । बाँकी रहेका ठूला तीन क्याम्पसमध्ये हेटौँडा क्याम्पसमा पनि एमाले नेतृत्वको अखिल अगाडि रहेको छ ।
टिप्पणीहरू