नाम कम्युनिष्ट भएर मात्रै के गर्नु
– दीपक खनाल
स्थापनाकालमा नेपाल कम्युनिष्ट पार्टीको उद्देश्य पवित्र थियो । विसं १९८० को दशकदेखि नै कम्युनिष्ट विचारधाराका विभिन्न समूह खुले पनि आधिकारिक रूपमा २००६ साल (सन् १९४९) मा स्थापित नेकपाको पहिलो घोषणापत्रमा भनिएको थियो, नेपालका जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यो हो– विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी पुँजीवादी आधिपत्यलाई पूरै खत्तम पार्नु र मजदुर वर्गको नेतृत्वमा मिहिनेतकश जनताको जनवादी राज्य स्थापना गर्नु । यस्तो राज्य व्यवस्था स्थापना गर्नु, जसमा जनता राष्ट्रको सम्पत्तिको मालिक हुनेछन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन्.....।
त्यतिबेलाको नेपाली समाज लामो समयदेखिको निरंकुश सामन्ती शासनबाट जकडिएकाले साँच्चै तत्कालीन कम्युनिष्ट नेताहरू नेपाली समाज र जनताका मुक्तिदाताजस्ता बनेर उभिएका थिए । न्यायप्रेमी जनता पनि कम्युनिष्ट विचारधाराप्रति आकर्षित भए । मानवतावादी दर्शनका पक्षधर बझांगी राजा जय पृथ्वीबहादुर सिंह, टंकप्रसाद आचार्य, गंगालाल श्रेष्ठ, बिपी कोइराला कम्युनिष्ट विचारका थिए । जय पृथ्वीबहादुर लेनिनबाट प्रभावित थिए भने टंकप्रसाद आचार्य माक्र्सवादी ढाँचाको जनक्रान्ति चाहन्थे । बिहारीलाल भन्ने एकजना व्यक्ति त साम्यवादी विचारका सामग्री प्रचार गर्दथे । त्रिचन्द्र कलेजमा आइए पढ्दै गरेका गंगालाल श्रेष्ठलाई पक्राउ गरी छापा मार्दा प्रहरीले उनको कोठामा साम्यवादी क्रान्तिसम्बन्धी दस्तावेज फेला पारेको थियो । प्रचण्ड गोर्खा राणा प्रधानमन्त्री भीमशमशेरको पालामा नै स्थापित भएको थियो, जो माक्र्सवादी दर्शनबाट प्रभावित थियो । सूर्यबहादुर भारद्धाजको सक्रियतामा विसं १९९८ को फागुनमा कम्युनिष्ट विचारका पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, प्रेमबहादुर कंसाकार, गंगालाल हलुवाई, कामक्षा देवी सदस्य रहेको नेपाल प्रजातन्त्र संघ स्थापना गरिएको थियो । सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, सन्तवीर लामा, सरदार निमा, डिल्लीरमण जोशी (रेग्मी), विश्वेश्वरप्रसाद कोइराला, शंकरप्रसाद शर्माहरूद्वारा सन् १९९९ मा दार्जिलिंगमा अखिल नेपाल वर्ग महासभा गठन गरिएको थियो । क्रान्तिकारी साहित्यको रचना तथा त्यसको प्रचार गर्ने र रक्तपात कमिटी नामको सशस्त्र दल बनाई सशस्त्र क्रान्तिद्वारा राणाशासन ढाल्ने उक्त महासभाको मूल लक्ष्य थियो ।
चाकडी, चाप्लुसी, चुक्ली चाहने कसरी कम्युनिष्ट ? मै खाऔैँ, मै लाऔैँ भन्ने कसरी कम्युनिष्ट ?
राणाकालमा नै नेपाल प्रजातन्त्र संघ, रेडिकल डेमोक्रेटिक पार्टी, विश्व भ्रातृ संघ, साम्यवादी संघ, नेपाल लाल कम्युनिष्ट पार्टी आदि स्थापना भएका थिए । विसं १९९३ सालमा स्थापित नेपाल प्रजा परिषद्को घोषणापत्रमा नेपालमा वर्गविहीन समाज स्थापना गर्ने लक्ष्य रहेको उल्लेख थियो । के वर्गविहीन समाज भनेको साम्यवाद होइन ? यो माक्र्सवादी विचार होइन ? यो कम्युनिष्टको मूल मन्त्र होइन ? दस्तावेजका आधारमा प्रजा परिषद्लाई कम्युनिष्ट पार्टी भन्न कुनै आइतबार पर्खन पर्छ ? यी विभिन्न आधार हेर्दा नेपाली समाज राणाकालदेखि नै कम्युनिष्ट विचारधारा बोकेको समाज हो भन्न सकिन्छ । तर आज च्याउसरह रहेका कम्युनिष्ट नामधारी पार्टीहरूले स्थापनाकालको मूल लक्ष्य नै बिर्सेका छन् या त्यसलाई तोडमरोड गरेर आफूलाई गैरकम्युनिष्ट कित्तामा उभ्याइसकेका छन् । सिद्धान्त र व्यवहार हेर्दा यिनीहरूलाई कम्युनिष्ट भन्न सकिने अवस्था छैन । ती आर्थिक चरित्र र व्यवहारका हिसाबले कमाउनिष्ट र चिन्तनधाराका आँखाले हेर्दा रमाउनिष्टजस्तै भएका छन् । संस्कारमा सामन्तवादी विचारधारीभन्दा फरक छैनन् । साँस्कृतिक रूपमा पनि खतम छन् । राणाकाल, पञ्चायतकाल, प्रजातान्त्रिक काल झैँ अहिले पनि सोर्सफोर्स लगाएपछि, नजराना टक्र्याएपछि काम हुने नत्र नहुने अवस्था छ । सबैजसो कम्युनिष्टको चरित्र गैरकम्युनिष्टको जस्तो भइसकेको छ । नेपाली समाजको संरचना, संस्कार, सामन्ती चिन्तन, आदिबाट आज पनि पखालिन नसकेकाले शक्ति र सत्तामा गएपछि छिट्टै भ्रष्ट हुने गरेका छन् ।
उहिलेका कम्युनिष्टले दिने समानता, सामूहिकता, सहकार्य, साम्यवादको नारा एकादेशको कथाजस्तो भएको छ । पहिलेका कम्युनिष्ट सिद्धान्त र विचारमा कट्टर थिए । अहिलेका कम्युनिष्ट लट्टरपट्टर छन् । ती सामूहिकभन्दा चरम व्यक्तिवादी, परिवारवादी, नातावादी, आफन्तवादी, चाकडीवाज, चुक्लीवाज, चाप्लुसीवाज, षड्यन्त्रकारी, विभेदकारी भएका छन् । सम्पत्ति हडप्नमा मात्र होइन अनेक सामन्तवादी, पुँजीवादी कर्म गरेर कमाउन तल्लिन छन् । सत्तामा गएका बेला पनि राजा, महाराजा र निरंकुश शासकले झैँ राज्यको ढुकुटी दोहन गर्नमा कुनै डर, चिन्ता छैन उनीहरूलाई ।
समाजवादउन्मुख संविधान जारी भइसकेको आजको अवस्थामा पनि सिंगो नेपाली समाजमै हुने खाने र हुँदा खाने वर्ग छँदै छन्, यसको तीव्र प्रतिबिम्ब कम्युनिष्ट पार्टी र व्यक्तिहरूभित्र झन् कायम नै छ । त्यहाँ पनि अझ हुनेखाने, नवधनाढ्य र हुँदा खाने वर्ग मौलाउँदै आएको छ । जनवादी शिक्षा र निःशुल्क स्वास्थ्य सेवाको नारा अलाप्ने कम्युनिष्ट पार्टी र तिनका नेता, कार्यकर्ता नै शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण गरेर, गर्न दिएर दलाल पुँजीवादी अर्थ प्रणालीको अभियन्ता बन्दै जनतालाई नै ठग्न, शोषण गर्न तल्लीन छन् । के यसरी ठग्ने, शोषण गर्ने, एक्लै एक्लै कमाउने, नजिकका आसेपासे, आफन्तलाई मात्र हेर्ने पार्टी, व्यक्ति कम्युनिष्ट चरित्रको हो ? चाकडी, चाप्लुसी, चुक्ली चाहने कसरी कम्युनिष्ट ? मै खाऔँ, मै लाऔँ भन्ने कसरी कम्युनिष्ट ? जनताको एउटा सियो पनि निःशुल्क लिन हुन्न भन्ने सिद्धान्त विपरीत जनतालाई नै लुट्ने कसरी कम्युनिष्ट ? राज्यका विभिन्न संयन्त्रमा बसेर होस् या क्रान्तिको नाममा जनतालाई नै तर्साएर, थर्काएर कमाउने कसरी कम्युनिष्ट ? राज्य संयन्त्रमा बसेर घुस कमिसन खाने र खान प्रेरित गर्ने कम्युनिष्ट आवरणको कम्युनिष्ट कसरी कम्युनिष्ट ? जताततै शक्तिको आडमा आफ्नो वर्चस्व कायम गर्ने पार्टी, संगठन वा कार्यकर्ता कसरी कम्युनिष्ट ? के युद्ध, संघर्ष लुटेर रातारात धनी बन्नका लागि गरिएको हो ? दीर्घकालीन रूपमा जनताको साथ चाहने हो भने सर्वप्रथम यी प्रश्नको जवाफ दिएर आफूलाई सुधार्न आवश्यक छ सबै कम्युनिष्टले ।
कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा झैँ हिजो यस्तै नारा दिएर जनतालाई आकर्षित गर्ने माले, एमालेहरूले विस्तारै मूल सिद्धान्त छोड्दै गए । व्यवहारमा पनि आफूलाई सच्याउन सकेनन् । उल्टै विदेशीको गोटी बनेर एनजिओ, आइएनजिओतिर लालायित भए । आज त्यत्रो जनयुद्ध लडेको माओवादी पार्टी, तिनका धेरै नेता र कार्यकर्ता यही बाटोमा लागेका छन् । पहुँचवाला, नेता र कार्यकर्ताले आफ्नो जीवन सुरक्षित पारिसकेका छन् । तर गरिब नेता, कार्यकर्ता, सहिद र बेपत्ता परिवार, घाइते, अपांगता भएका व्यक्तिलाई आज पनि के खाऔँ के लाऔँ, घरव्यवहार कसरी चलाऔँ भन्ने चिन्ता छ । यस्तै परिवेशमा माओवादी जनयुद्धका प्रमुख कमाण्डर प्रचण्डविरुद्ध युद्धकालीन घटनाका विषयलाई लिएर सर्वाेच्च अदालतमा रिट परेपछि बाझिएर कुना पसेका माओवादी यसलाई जनयुद्धमाथिको प्रहार भन्दै संयुक्त आन्दोलनमा उत्रेका छन् । तर भनिन्छ, सत्तामा गएका जस्तै सडकमा रहेका माओवादीका धेरै नेता, कार्यकर्ताले पनि आफ्नो दुनो सोझ्याइसकेका छन् । यिनीहरू राजनीतिक उपलव्धि जोगाउन, बाँकी थप क्रान्ति सम्पन्न गर्न नजिक भएका हुन् या आफूले जम्मा गरेको सम्पत्तिको सुरक्षा गर्न वा कमाउनिष्ट धन्दालाई यथावत् राख्न नजिएका हुन् त्यो बेलैमा स्पष्ट हुनुपर्छ । जनतालाई समयमा नै भ्रममुक्त गरिदिनुपर्छ । तथापि यसको वास्तविकता समयक्रममा खुल्दै जानेछ नै !
अन्त्यमा, हुन त नेपालका कम्युनिष्ट आफ्नो मूल सिद्धान्त र लक्ष्यबाट चिप्लिसकेका छन् । सबै कम्युनिष्ट एक हुने सम्भावना धेरै पर पुगिसकेको छ । तैपनि कम्युनिष्ट पृष्ठभूमिको शक्ति नेपालको एक प्रमुख शक्ति हो । त्यसैले सत्ताभित्र र बाहिर रहेका सबै भुरेटाकुरे कम्युनिष्टहरू कम्तिमा जनजीविका, समृद्धि, राष्ट्रिय नीति, वैदेशिक हस्तक्षेप, आन्तरिक राष्ट्रियताका सवालमा एक हुनसके मुलुक र मुलुकबासीलाई केही राहत मिल्ने थियो कि ?
टिप्पणीहरू