तिब्बतीयन शरणार्थीलाई नागरिकता दिलाउने गिरोह पक्राउ

तिब्बतीयन शरणार्थीलाई नागरिकता दिलाउने गिरोह पक्राउ

पाँच सयभन्दा बढी तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । झापाको केचनाकवलका कृष्णबहादुर कटवाल, काठमाडौँको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको शुक्लागण्डकीका २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुुरको गोदावरीका विजय लामालाई प्रहरीले चित ५ गते बबरमहलबाट समातेको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । कार्यालयका प्रमुख मनोज केसीका अनुसार लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको अनुसन्धानका क्रममा खुलेको छ । 

त्यस्तै, पक्राउ परेका न्युल्केसले आफू बाबु भनेर ५ जनालाई नागरिकता बनाईदिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विगत ९ वर्षदेखि क्यान्टिन चलाउँदै आएका विजयले सरकारी कार्यालयभित्रको जिम्मा लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार कटुवालले एउटा नक्कली नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिई नक्कली बाबुलाई १० हजार रुपैयाँसम्म दिने गरेको अनुसन्धानबाट खुलेकोे छ । त्यस्तै, कार्यालयबाट नागरिकता मिलाएबापत विजयले एक लाखदेखि डेढ लाख रुपैयाँसम्म लिने गरेको बताइन्छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका पूर्व र बहालवाला कर्मचारीमाथि समेत निगरानी राखेको जनाएको छ । पक्राउ परेका कटुवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति हुन् ।

टिप्पणीहरू