सरिता र लीलाको ह्याण्डस्– फ्रिमा त्यो संवाद

सरिता र लीलाको ह्याण्डस्– फ्रिमा त्यो संवाद

प्रधानमन्त्रीलाई सत्ता सम्हालेको हप्ता दिन नबित्दै व्यापारीहरूले चिप्ल्याएको बिषयले अहिले सिंहदरबारमा व्यापक चर्चा पाएको छ । 

डेडिकेटेड फिडर र ट्रंक लाइनबापत विद्युत् प्राधिकरणले झण्डै २२ अर्ब उठाउन बाँकी छ जसमा साहिल र सुलभ अग्रवाल दाजुभाइको बक्यौता २ अर्ब माथि छ । प्राधिकरणले असार २५ र २७ गते ६ वटा उद्योगको लाइन काटेको थियो ।

जसमा २ वटा उद्योग जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिक छन्, यी दुवै शंकर ग्रुपका हुन् । प्राधिकरणका अनुसार यी २ उद्योगको मात्रै १ अर्ब ८० करोड ६८ लाख रूपैयाँँ बक्यौता छ । लाइन काटेको जगदम्बा स्टिल प्रालिको १ अर्ब ६० करोड रूपैयाँँ र जगदम्बा सिन्थेटिकको २० करोड ५० लाख रूपैयाँँ बक्यौता छ । पवनकुमार गोल्यान र शशिकान्त अग्रवालको रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख रूपैयाँँ बक्यौता छ भने मुरारका ग्रुपको अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख रूपैयाँँ महशुल तिर्नपर्नेछ । यसबाहेक गोल्छा अर्गनाइजेशनको हुलास स्टिलको १४ करोड १२ लाख रूपैयाँँ र त्रिवेणी ग्रुपको घोराही सिमेन्ट उद्योगको ५० करोड ५८ लाख रूपैयाँँ बक्यौता छ ।

केपी शर्मा ओलीकै निर्देशनमा गत शुक्रवार विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको हलमा बसेको थियो । ऊर्जा सचिव सरिता दवाडी, राजश्व सचिव डा. रामप्रसाद घिमिरे, उपभोक्ता समूहबाट भक्तबहादुर पुन, ऊर्जा क्षेत्रबाट कपिल आचार्य र रतनबहादुर ऐर, उद्योग वाणिज्य महासंघबाट भरतराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य उपस्थित थिए ।

मुख्य एजेण्डा थियो– काटिएका उद्योगको लाइन जोड्ने । नवनियुक्त ऊर्जामन्त्री दीपक खड्काको पहिलो बोर्ड बैठक भएका कारण सञ्चालक समितिले स्वागत गर्‍यो । मन्त्रीले लाइन जोड्ने सम्बन्धमा छलफल अघि बढाए । ६ वटा उद्योगको मात्रै लाइन किन काटियो ? भन्ने उनको प्रश्नमा कुलमानको जवाफ रह्यो ‘बक्यौता धेरै जसको छ, त्यहीँबाट शुरु भएको ।’

केही सदस्यले बक्यौता नतिरी विद्युत् जोड्न मिल्छ/मिल्दैन ? भन्ने जिज्ञासा राख्दा कुलमानले विगतमा प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन आएपछि जोडिएको उदाहरण पेश गर्दै मौखिक निर्देशनले मात्र त्यसो गर्न नमिल्ने तर्क पेश गरे । राजश्व सचिव रामप्रसादले कानुनी हिसाबले अहिले नै कुनै निर्णय गर्न नसकिने राय दिए । अनि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालको साली नाता पर्ने ऊर्जासचिव सरिता दुवाडीले संखुवासभाकै कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई फोन लगाइन्, त्यो पनि ह्याण्ड्स फ्रि गरेर ।

उनले कुलमानले प्रधानमन्त्री कार्यालयको लिखित निर्देशनबिना लाइन जोड्न नसकिने जवाफ दिएको जानकारी गराइन् । मुख्यसचिवले जवाफ फर्काइन्, ‘जसले जुन निर्णयको आधारमा लाइन काटेको हो, त्यसैले जोड्ने निर्णय गर्नुपर्छ ।’ यही र यस्तै गलफत्तीका बीच साढे दुई घण्टा चलेको पहिलो बैठक विना निश्कर्ष सकियो ।

अस्ति सोमबार विद्युत् प्राधिकरण सञ्चालक समितिको दोश्रो बैठक बस्यो । मन्त्रीले प्रक्रिया मिलाउँदै गरौंला, लाइनचाहिँ जोडिहालौं भन्ने प्रस्ताव राखे । यो प्रकरणलाई लिएर ऊर्जा मन्त्रालयका कर्मचारीबीच चर्चा चल्ने गरेको छ केपी ओलीलाई साहिल र सुलभ अग्रवाल दाजुभाइको ढाडमा राखेर दीपक भट्टले चिप्ल्याएको । 

 

टिप्पणीहरू